
तुलसीपुर, ५ असार ।
दाङको तुलसीपुरमा हाटबजार निर्माण भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ सितलपुरमा हाटबजार निर्माण भएको हो । यो पालिकाको गौरवका रुपमा रहेको वडाध्यक्ष खुसीराम चौधरीले बताए। उनका अनुसार अहिले टहरा निर्माण गरिसकेको र भण्डारणकालागि दुई वटा साना भवन पनि निर्माण भइसकेका छन् । संरचना निर्माण भइसकेकाले केही समयमा हाटबजार सञ्चालनमा ल्याइने उनले बताए ।
हाटबजार सञ्चालनमा आएपछि १२ नम्बर वडाको कचिला, कचेलीसहित वडा नं. १३ को बखरिया, वडा नं.११ को उरहरी, मोतिपुर, वडा नं. १४ को अकमी, मटेरा,वडा नं.१५ को मलवार, धमकापुर क्षेत्रमा उत्पादन भएको तरकारीलाई बजारीकरणमा सहज हुनेछ । “तरकारी उत्पादनका हिसाबले यी क्षेत्र तुलसीपुरकालागि उत्तम क्षेत्र हुन्”,उनले भने “हाटबजार लागेपछि किसानहरुलाई बजारीकरणमा समस्या हुँदैन ।”
अहिले किसानले उत्पादन गरेको तरकारीमा विचौलियाले न्यून मूल्यमा किनेर चर्को मूल्यमा विक्री गर्ने गरेका छन् । यसले किसानहरुलाई मारमा पारेको भएपनि यो सञ्चालनमा आएमा सहज बनाउने किसान समिर चौधरीले बताए । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ५ असार २०८२, बिहीबार ०८:२८ बजे