चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फूटबलको तयारी पूरा

लक्ष्मण बस्नेत
तुलसीपुर, १ मंसिर ।
दाङको तुलसीपुरमा आइतबार देखि सुरु हुने हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । प्रतियोगिताको आयोजक हिरा डाँगी फाउन्डेसन तुलसीपुरले आज शनिवार पत्रकार सम्मेलनको आयोजना गरि अरनिको खेलमैदान तुलसीपुरमा दिउँसो साढे एक बजे उद्घाटन हुने प्रतियोगिताको सम्पुर्ण तयारी कार्य पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभाका प्रमुख माननीय कृष्ण बहादुर घर्तिले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन खेलमा स्काई फुटबल क्लब सुर्खेत र साबिक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराही भिड्नेछन् ।

फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्घाटन समारोह, खेलमैदान,खेल तालिका सार्वजनिक,आतिथ्य सत्कार,मंच ब्यबस्थापन,आर्थिक ब्यबस्थापन,आवास,हेल्प डेक्स स्थापना, प्रत्यक्ष प्रशारण,प्रचारप्रसार,सुरक्षा ब्यबस्थापन लगाएतका सबै तयारी पूरा भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनु भयो ।

कार्तिक ८ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।


त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दिनुभयो ।

प्रतियोगितामा राईजिङ स्टार घोराही,युएनबिसी घोराही, ईनोभेटिभ ज्ञानज्योति, टरिगाउ युवा क्लब तुलसीपुर, छिमेकी राष्ट्र लखनउ भारतको साराहा फुटबल क्लब, स्काई फुटबल क्लब सुर्खेत,बिर्गेड ब्वाईज ललितपुर र कपिलवस्तु ११ गरि ८ टिमको सहभागिता रहेको छ ।

यसैबिच आयोजक हिरा डाँगी फाउन्डेसनले भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा गरिमाय उपस्तिथिका लागि खेलप्रेमी, खेलाडी, सहयोगीदाता, पत्रकार,शुभचिन्तक र संघसंस्था लगाएत सबैमा हार्दिक अनुरोध गरेको छ ।