
तुलबहादुर कवँर मगर
मसुरिया, ३ असार ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गर्नुअघि आवश्यक तयारीका सन्दर्भमा मंगलबार छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम वडा नम्बर ८ का कार्यवाहक वडाध्यक्ष सुन्दरबहादुर शाहीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कमलापति चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै वडा र क्षेत्रलाई बालमैत्री बनाउनेतर्फ एकीकृत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले सम्पूर्ण सूचकहरू पुरा गरी पालिकाका सबै ९ वटै वडालाई क्रमशः बालमैत्री वडा घोषणा गर्दै अन्ततः सम्पूर्ण पालिकालाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।
छलफलमा बालमैत्री वडा घोषणा कार्यविधि अनुसार कार्यान्वयनका चरणहरू, आवश्यक ५१ वटा सूचकहरूको विवरण, विद्यालय तथा समुदाय तहमा बाल समूह गठन, पुनर्गठन तथा बालभेलालगायतका विषयमा विस्तृत छलफल गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवनकुमारी जिसीले जानकारी दिनुभयो।
कार्यक्रममा वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा पालिकास्तरीय बाल सञ्जालका प्रतिनिधिसहित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




लाइभदाङ । ३ असार २०८२, मंगलवार १९:१३ बजे