
तुलसीपुर, ३ असार ।
दाङ तुलसीपुर उपमहानगर–पालिका वडा नं.१२ को लामिडाँडामा कुनै बेला वर्षादमा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुन्थ्यो । आवतजावत गर्न निकै कठीन हुन्थ्यो । तर, अहिले सडक कालोपत्रे भएपछि आवतजावतमा निकै सहज हुने गरेको छ । “पहिले हिलै हिलो हुन्थ्यो, साईकल लैजान पनि समस्या हुन्थ्यो”,स्थानीय नन्द कुमार पुनले भने “अहिले त साइकलमै बजार पुग्न पनि सजिलो हुन्छ, छिट्टै बजार पुगिन्छ ।”
कालोपत्रे नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घर भित्रै पथ्र्यो । सुकाएका कपडामा पनि धुलै धुलो हुने अबस्था थियो । तर, त्यो अबस्था हटेको स्थानीय देवी थापाले बताईन् । “सुकाएका कपडामा पनि धुलै–धुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो”,उनले भने “अब त सजिलो भयो ।” सोही ठाउँको ८ सय मिटर सडक कालो पत्रे भएको हो ।
त्यस्तै तुलसीपुर १२ कै हरीपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यति मात्रै होईन्, वर्षादमा घरहरु नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको स्थानीय डिला केसीले बताईन् । “बर्षादमा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो”,उनले भनिन् “तर, अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको छ ।” जहाँ साढे तीन सय मिटर सडक कालोपत्रे भएको हो ।
यी दुबै सडककालागि ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगर स्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए । उनका अनुसार वडाले आवश्यकताका आधारमा नगर स्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्रे गरिएको बताए ।“सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरि हामीले अहिले गाउँ–गाउँका सडकहरू स्तरबृद्धि गर्ने र कालोपत्रे गर्ने काम गरिरहेका छौं”,उनले भने “यसले निकै सहज बनाएको छ ।” यो वर्ष मात्रै वडामा दर्जन बढि सडक स्तरवृद्धि गरिएको बताए । आवश्यकता अनुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्य समेत गरिएको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ३ असार २०८२, मंगलवार १३:२० बजे