यही १३ गते विभिन्न बाम्पन्थी दलसंग एकता गर्दैछौं : माधव नेपाल

दाङ
१० पुस /  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न बाम्पन्थी पार्टीसंग एकता हुन लागेको बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै यही १३ गते बिभिन्न साना बाम्पन्थी दलहरुसंग एकताको घोषणा गर्ने तयारी रहेको बताएका छन् ।“तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसंग एकताको सम्भावना छैन’, उनले भने‘तर, साना केही दलहरुसंग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा बिभिन्न साना पार्टीसंग एकताको घोषणा गर्दैछौं ।’ अहिले तत्काल ठूला पार्टीसंग एकताको भने सम्भावना नरहेको उनले बताए ।

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै आन्दोलन सफल पार्नकालागि साना कम्युनष्टि घटकहरुसंग एकता गर्न लागेको नेपालले बताए ।‘स–सना कम्युनिष्ट पार्टीहरु हामीसंग एकीकृत हुन चाहिरहेका छन्’, उनले भने‘ हामीले पनि देशका बिभिन्न ठाउमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छोैं ।’

साथै यो गठबन्धन नै आगामी सबै तहका चुनाबसम्म कायम रहने समेत बताए ।‘ हामी पाँच दलिय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं’, उनले भने‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि संगै जानेछौं ।’ उनले एकताबाट मात्रै शक्ति आर्जन हुने समेत बताए ।

कुनै पनि दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आबश्यक रहेको समेत उनले बताए । ‘कुनै पनि दलले एकल बहुमत ल्याउन सक्ने सम्भावना कम छ’, उनले भने‘एमालेले पनि २०७४ को चुनाबमा माओवादीले साथ दिएपछि मात्रै ठूलो दल बनेको हो’, उनले भने । साथै उनले चुनाबसंग बिभिन्न दलहरुसंग सहकार्य गरेर अघि बढ्ने बताए ।


अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनि आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए । बरु एमालेलाई राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टीजस्ता पार्टीमा बिलय हुने कुराको शंका रहेको समेत उनले बताए ।‘कही एमाले राप्रपा तिर, लोकतान्त्रिक समाजवादी तिर एकता हुने त होइन्, भन्ने शंका उत्पन्न भएको छ’, उनले भने‘किनभने एमालेमा ठाउँ–ठाउँमा भएका महाधिवेशन, कुम्भमेला, विधि पद्धति बिपरितका कार्य, समूहिकताको भावना हराएको छ ।’

साथै उनले एमसीसी हुबह पारीत गर्न नहुँने समेत बताए ।‘हामी कुनै पनि यस्ता कुरालाई स्वीकार गर्न सक्दैनौं। देशको स्वाभिमानमा आँच पुगोस्,जसले नेपालको आन्तरिक मामिलामा अरुले हस्तक्षप गर्ने ढोको खोलोस्,छिमेकीहरुलाई सशंकित बनाओस्, अरुको शैन्य गठबन्धनमा बाध्ने स्थिति बनोस’, उनले भने‘हामी स्वतन्त्र ढंगले चहान्छौं ।’ उनले निसर्त, शैन्य र सुरक्षाका कुरासंग नजोडिने विषयमात्रै स्वीकार्य हुने समेत बताए ।

साथै उनले संघीयता, गणतन्त्रबाट पछि हट्न नसकिने समेत बताए । बरु संविधान, संघीयतालाई आबश्यकता अनुसार परिमार्जन गरिने सकिने अध्यक्ष नेपालको भनाई थियो ।

साथै उनले अहिलेको निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताए । मतदाता किन्ने र भोज भतेरसंग तुलना गर्ने प्रबृतिले अहिलेको निर्वाचन प्रणालीमा बिकृति फैलाएको उनको भनाई थियो । साथै उननले प्रदेश २ बाहेक सबै प्रदेशमा पार्टीको भेला तथा सम्मेलन गरिसकेको समकेत बताए ।