एक महिनामा एक सय बढी उजुरी

दाङ, ३ असोज ।
जिल्ला प्रहरी कार्यालय दाङमा एक महिनाको अवधिमा एक सय बढी उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिनामा विभिन्न प्रकृतिका एक सय तीन वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार उजुरी परेकामध्ये ४४ वटा फस्र्योट भएका छन् भने ५९ वटा पक्रियामा रहेका छन् ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार जसमा सबैभन्दा धेरै साधारण चोरीका १७ वटा, झुन्डी आत्महत्याका १६, अभद्र व्यवहारका १२, भवितव्य ज्यानका ११, लागूऔषधका सात, बैङ्किङ कसुरी छ, विषय सेवन गरी आत्महत्याका चार, जबर्जस्ती करणीका चार, फुटकर ज्यानका छ, सवारी ज्यानका पाँच, ठगी तीन, ज्यान मार्ने उद्योगका तीन, जबर्जस्ती करणी उद्योगका दुई, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन र जुवाका एक/एक वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिना महिला तथा बालबालिका सम्बन्धी एक सय १७ वटा उजुरी परेका छन् । जसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४२ वटा, इलाका प्रहरी कार्यालय तुलसीपुरमा ५३ वटा, इलाका प्रहरी कार्यालय गढवा र भालुबाङमा ६/६ वटा, इलाका प्रहरी कार्यालय खिलतपुर र वडा प्रहरी कार्यालय घोराहीमा चार/चार वटा, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय अमिलियामा एक/एक मुद्दा परेका छन् ।

एक सय ३४ फरार थुनुवा पक्राउ
जेन–जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका दुई सय ५३ जना कैदीबन्दीमध्ये एक सय ३४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक शाहका अनुसार भागेका दुई सय ३३ कैदीमध्ये एक सय २३ जना र २० जना थुनुवामध्ये ११ जना अहिलेसम्म पक्राउ परेका छन् । उनका अनुसार अहिले एक सय १० जना कैदी र नौ जना थुनुवा फरार रहेको बताए । पक्राउ परेका एक सय ३४ जना कैदीबन्दीमध्ये ४७ जना आफैँ कारागारको सम्पर्कमा आएको समेत जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।