डिभाइनका आशिष राष्ट्रपति रनिङ सिल्डको राष्ट्रिय खेलमा छनौट

तुलसीपुर, २८ जेठ ।
डिभाइन टेम्पल एकेडेमी, तुलसीपुरमा कक्षा ६ मा अध्ययनरत आशिष ददेलले राष्ट्रपती रनिङ शिल्ड-२०८१ अन्तर्गत लगातार ३ चरणमा स्वर्ण पदक जित्दै राष्ट्रिय स्तरको खेलमा प्रवेश गरेका छन् ।

सानै उमेरदेखि खेलकुदमा विशेष रुचि राख्दै आएका आशिष एक कुशल तथा अनुशासित खेलाडीको रूपमा चिनिन्छन् । आशिषले खेलकुदप्रतिको समर्पण र अनुशासनका माध्यमबाट छोटो समयमा उल्लेखनीय सफलता हात पार्न सफल भएका हुन् ।

उनले तुलसीपुर नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक जित्दै जिल्ला स्तरीय खेलमा आफ्नो स्थान पक्का गरे । त्यसपछि उनले तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट जिल्ला स्तरीय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै पुनः स्वर्ण पदक जित्न सफल भए र प्रदेश स्तरीय खेलमा प्रवेश गरे । त्यसैगरी प्रदेश स्तरिय खेलमा समेत ११ ओटा जिल्लालाई पछि पार्दै विजयी यात्रालाई निरन्तर कायम राखे । विभिन्न चरण पार गर्दै हाल उनी राष्ट्रपती रनिङ शिल्ड ( २०८१ अन्तर्गत राष्ट्रिय स्तरको खेलमा प्रवेश गरेका छन् ।

हाल कक्षा ६ मा पढ्ने आशिष उमेरले १२ वर्षका मात्र भएका छन् । छोटो समयमा उल्लेखनीय सफलता हात पारेका ऊनी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको नाम चिनाउने सम्भावना बोकेका प्रतिभाशाली खेलाडीका रूपमा देखिएका छन् ।

विद्यालय प्रशासनले आशिषको निरन्तर मेहनत, अनुशासन र समर्पणको खुलेर प्रशंसा गर्दै उनलाई आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । साथै विद्यालयले खेल र शैक्षिक क्षेत्र दुवैमा अगाडि बढाउने लक्ष्यका साथ सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रस्तरीय प्रतियोगितामा आशिषको उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।


यसैबीच विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै आशिषलाई राष्ट्रिय प्रतियोगिताको लागि सम्मानपूर्वक विदाई गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले आशिषलाई खादा र प्रशंसा–पत्र प्रदान गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, ‘आशिषको यो उपलब्धि विद्यालय र सम्पूर्ण क्षेत्रका लागि गर्वको कुरा हो। विद्यालयले उनको खेल र शैक्षिक दुवै क्षेत्रमा निरन्तर साथ र सहयोग पुर्‍याउने प्रतिवद्धता जनाउँछ।’

कार्यक्रममा शिक्षक, अभिभावक तथा सहपाठीहरूले आशिषलाई उत्साहजनक विदाई दिँदै राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए। राष्ट्रस्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन लागेका आशिषले आफूलाई पाएको अवसरप्रति आभार व्यक्त गर्दै उच्च प्रदर्शन गर्ने अठोट व्यक्त गरेका छन्।

जेठ २८ गते देखी काठमाडौंमा हुने प्रतियोगितामा पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरु केन्द्र तहको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने छन् । प्रत्येक प्रदेशबाट ४९ छात्रा र ४९ छात्र गरि ९८ खेलाडी हुनेछन् । यस्तै सात प्रदेशबाट ६८६ खेलाडी र १७ जना अफिसियल सहभागी हुने छन् ।

खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका प्रतियोगिता हुनेछन् ।