तुलसीपुर–१७ मा दलित समुदायका लागि साबुन र पञ्चेबाजा तालिम सुरु

तुलसीपुर, २८ जेठ ।
दलित समुदायको सशक्तीकरण र आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित तुलसीपुर उपमहानगरपालिका–१७ बन्कट्टामा मंगलबारदेखि साबुन बनाउने तालिम तथा तुलसीपुर–१७ निमवामा पञ्चेबाजा सिकाउने तालिम सुरु गरिएको छ।

दुई तालिम संयुक्त रूपमा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर–१७ की जनप्रतिनिधि गीता राणाले सहभागीहरूलाई शुभकामना दिँदै सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरिन्।

कार्यक्रम सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान, दाङको आयोजनामा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष भीम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा विभिन्न वक्ताहरूले सीपमूलक तालिमको आवश्यकता र यसको दीर्घकालीन प्रभावबारे प्रकाश पारे।


कार्यक्रम संस्थाका कोषाध्यक्ष जितलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सल्लाहकार बाबुराम विश्वकर्मा, प्रशिक्षक निर्मला कुमारी गुप्ता लगायतले पनि सम्बोधन गरेका थिए।

दुई फरक स्थानमा सञ्चालन हुने तालिममध्ये वनकट्टामा साबुन बनाउने तालिम र निमवामा पञ्चेबाजा तालिम सञ्चालन गरिनेछ। आयोजक संस्थाले यी तालिमहरू मार्फत दलित समुदायमा सीप विकास गरी आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास लिएको छ। कार्यक्रम सञ्चालन संस्थाका सदस्य किरण विश्वकर्माले गरेका थिए ।