सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि

बैतडी, २४ जेठ ।
सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबै संक्रमित पुरुषहरू हालै भारतबाट आएका हुन्।

तीमध्ये तीन जनाको त्रिनगर नाका र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङ जिल्लाका हुन्। संक्रमित सबैलाई होम आइसोलेसनमा बस्न निर्देशन दिइएको जोशीले जानकारी दिए।


यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित महामारीको जोखिमलाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल तथा प्रयोगशालाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।