…जब विद्यार्थीले देखाए बन विनासका बेफाईदा

तुलसीपुर, २२ जेठ । एक ब्यक्ती सुरुमा विरुवा रोप्छन् । त्यसलाई हुकाउछन्, बढाछन् । रुखहरु ठूला हुन्छन् । जसबाट स्वच्छ अक्सिजनको आनन्द लिन्छन्, भने फलफूल पनि पाउछन् । उनको जीवन स्वस्थकर चलिरहेको हुन्छ ।

त्यतिकैमा अर्को ब्यक्ती आउछन्, र रुखहरु बेच्न भन्छन् । पैसाको लोभमा उनले रुखहरु बेच्छन् । त्यसपछि रुखहरु काटिन्छ । रुख काटेको केही समयपछि वातावरण असन्तुलन हुन्छ । हावापानी असुद्ध हुन्छ । अक्सिजन पनि पाउदैनन् । स्वच्छ फलफूल पनि पाउदैनन् ।

त्यसपछि उनलाई लाग्छ, बोटविरुवा काटेर गल्ती गरिएछ । पुनः विरुवा हुर्काउन कोशिष त गर्छन्, तर, बुढेसकालमा सक्दैनन् । त्यसपछि वातावरण, हावा पानीले पनि साथ दिदैन र उनको बीचमै मृत्यु हुन्छ ।
–––
यो थियो, तुलसीपुर–६, स्थित डिभाइन टेम्पल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरुले देखाएको नाटक । विश्व वातावरण दिवसको अवसरमा विहीबार भएको कार्यक्रममा उनीहरुले रुखको महत्व झल्काउने गरि नाटक प्रस्तुत गरेका थिए । त्यति मात्रै होइन्, विद्यार्थीहरुले जलबायु परिबर्तनले पारिरहेको प्रभाबका बारेमा पनि प्रस्तुती राखेका थिए ।

विद्यालयका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानका अभियन्ता विमल रिजालको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्रालयका वरिष्ठ वातावरण निरीक्षक निर्मल चौधरी, शान्ता भुसाल, तुलसीपुर उपमहानगरपालिका वातावरण शाखा प्रमुख रमा खड्का, तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुषाल, पत्रकार दिपक बोहराको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि रिजालले वातारण संरक्षण अहिलेको आबश्यकता रहेको बताए ।


उनले वातावरणलाई मानव अनुकूल बनाउन नसकेमा यसले ठूलो संकट निम्त्याउन सक्ने समेत बताए । त्यसैले यस्ता खालका सचेतनामुलक कार्यक्रम आबश्यक रहेको उनको भनाई थियो । त्यस अवसरमा कक्षा १० की जिवा बुढाथोकी, आन्या नेपाली, कक्षा ९ का प्रचण्ड दहाल र कक्षा १० कि सफल न्यौपानेले वातावरण सम्बन्धि प्रस्तुती राखेका थिए ।

कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल महेश लामिछानेले गरेका थिए । त्यस्तै डिभाइन एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित डिभाइन मन्टेस्वरी र डिभाइन पाठशालामा वृक्षारोपण समेत गरिएको थियो ।