
तुलसीपुर १७ जेष्ठ । प्रजातान्त्रिक प्रक्रियाप्रति विद्यार्थीहरूलाई अभ्यस्त बनाउने उद्देश्यले सक्सेस एकाडेमी तुलसीपुरमा आठौँ इको क्लबको लागि विद्यार्थी नेतृत्व चयन गर्न मतदान गरिएको छ ।
निर्वाचन प्रक्रियालाई वास्तविक अभ्यास जस्तो बनाउन विद्यालय प्रशासनले मतपत्र र मतपेटिकाको व्यवस्था गर्नुका साथै उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरी प्रचारप्रसारका लागि समयसमेत निर्धारण गरेको थियो ।
मतदान प्रक्रिया सम्पन्न गराउने जिम्मेवारीसमेत स्पष्ट रूपमा तोकिएको थियो । कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको मतदान कार्यक्रम शुक्रबार शान्तपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकृत बिमल नेपालले जानकारी दिनुभयो ।
विद्यालय प्राङ्गणमै मतदान केन्द्र (बूथ) निर्माण गरी मतदानको व्यवस्था गरि निर्वाचन गरिएको हो । विद्यालयको वार्षिक कार्यतालिका अनुसार शुक्रबारको नियमित कार्यक्रम अन्तर्गत सम्पन्न उक्त निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक गोप्य मतदान गरेका हुन् ।
निर्वाचनमा जम्मा ३५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनमा कुल ३६८ मध्ये ३३९ मतदान गरेको विद्यालयका सह-प्रधानाध्यापक गोपाल गिरीले जानकारी दिनुभयो ।
मतगणना पश्चात कक्षा १० मा अध्ययनरत छात्र अर्जुन धितालले सर्वाधिक ३०३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका छन् । उनका प्रतिस्पर्धी झिनो मतान्तरले पराजित भएका थिए ।
सोही अवसरमा विद्यालयमा ‘सक्सेस इको क्लब’ गठन गरिएको छ । क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था गरिएको छ भने अध्यक्षमा कक्षा १० का अर्जुन धिताल भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा कक्षा १० कै चादनी घर्ती २५० मत सहित चयन भएकी छिन , सचिवमा कक्षा ८ का अमर वली १८० मतले चयन भए , कोषाध्यक्षमा कक्षा ९ का आभास योगि १९६ मत सहित चयन भए , महिला सदस्यमा जेसिका पाण्डे १५६ मतले चयन भएकी छिन तथा खुल्ला सदस्यहरूमा दिनेश वली ८४ मत र गगन थापा ८५ मतले चयन भएको विद्यालयका शिक्षक राजेश वलीले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रदिप वलीले निर्वाचन तथा क्लब गठन प्रक्रियाले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास, नेतृत्व क्षमता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिजेता इको क्लबका सदस्यहरुलाई आइतबार सफत ग्रहन तथा प्रमाणपत्र वितरण गरिने जानकारी विद्यालयका मा.वि संयोजक विमल नेपालले जानकारी दिनु भयो ।



लाइभदाङ । १८ जेष्ठ २०८२, शनिबार ११:०९ बजे