
तुलसीपुर, १४ जेठ ।
बौद्धिक अपाङ्गता भएका बालबालिका र तिनीहरूका अभिभावकको क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुरमा १५ दिने विशेष सीपमूलक तालिम सुरु गरिएको छ। अपाङ्ग सेवा संघ तुलसीपुरको आयोजना तथा लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगीको अध्यक्षता तथा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरिराज पाण्डेको प्रमुख आतिथ्यतामा गुडिया ९डल०, खेलौना र कुशन निर्माणसम्बन्धी तालिमको सोमबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो।
प्रमुख अतिथि पाण्डेले तालिमको उद्देश्य स्पष्ट पार्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतारेर आत्मनिर्भर जीवन यापनतर्फ उन्मुख हुन प्रेरित गर्नुभयो । “अपाङ्गता हुनु कुनै दोष होइन। इच्छाशक्ति र प्रयत्न भए असम्भव केही हुँदैन,” उहाले भन्नुभयो, “सिक्न चाहनेलाई सिकाइ सम्भव छ भन्ने सन्देश यो तालिममार्फत स्थापित हुनेछ।”
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का कार्यबाहक वडा अध्यक्ष भीमबहादुर के।सी।ले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउन वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजयकुमार शर्माले तालिम प्रभावकारी रहेको बताउँदै यस्ता तालिमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा राख्नुभयो । “समाजमा पछाडि पारिएका वर्गका लागि यस्तो पहल प्रेरणादायक छ,” उहाले भन्नुभयो ।
उद्घाटन सत्रमा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास महाशाखा प्रमुख माया श्रेष्ठ, राप्ती बहिरा संघ दाङका निर्देशक प्रतिमा शर्मा, प्रशिक्षक रेणु जिएम र तिलसरा पुन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
७० जना अपाङ्गता भएका बालबालिका र उनीहरूका अभिभावक सहभागी रहने उक्त तालिमको प्रशिक्षक रेणु जिएम र तिलसरा पुन रहनुभएको छ भने दोभाषेका रूपमा स्मृति योगीले भूमिका निर्वाह गर्नु भएको छ ।
अपाङ्ग सेवा संघ दाङकी सदस्य तेजकुमारी भुसालको स्वागत मन्तव्यबाट सुरु गरिएको तालिम उद्घाटन कार्यक्रमको सहजिकरण अपाङ्ग सेवा संघकी सचिव बसन्ती ओलीले गर्नु भएको थियो । तालिमले सहभागीहरूलाई स्वरोजगार तथा आर्थिक सशक्तिकरणतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।



लाइभदाङ । १५ जेष्ठ २०८२, बुधबार ०७:११ बजे