
दीपक बोहरा
दाङ, १० जेठ । दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा चढ्ने गाडी दुर्घटनामा परेको छ । शुक्रबार राति १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ स्थ्ति मसोट उकालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।
घोराहीबाट लमही तर्फ जाँदै गर्दा बा २ झ ४२०१ नम्बरको सरकारी गाडी अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेको प्रहरीले बताएको छ ।
गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा चालक लमही नगरपालिका ५ निवासी ४२ बर्षीय मधुसुधन केसी, सोही ठाउँका २३ बर्षीय अमर केसी, राजपुर गाउँपालिका ५ चंगुवा निवासी २७ बर्षीय मंगलसिंह भण्डारी घाइते भएका छन् ।
उनीहरुलाई प्रहरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लैजान खोजेको थियो । तर, आफू खुसी लमही अस्पतालमा गएर उपचार पछि घर फर्केको प्रहरीले बताएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई थाहा नै नदिएर गाडी लगेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।



लाइभदाङ । ११ जेष्ठ २०८२, शनिबार १०:२९ बजे