
दीपक बोहरा
तुलसीपुर,९ जेठ ।
विद्यार्थीहरु केही लाइनमा थिए त केही ल्याप्टप थिच्दै थिए । त्यो थिचाई न त कुनै कम्प्युटर विषयको अध्ययनकालागि थियो, न त कम्प्युटरमा हुने अन्य काम । त्यो त थियो–डिजिटल माध्यमबाट विद्यालयको क्याप्टेनसहितका पदाधिकारी चयनकालागि भएको मतदान ।
दाङको तुलसीपुर ६ स्थित डिभाइन टेम्पल एकाडेमीले सोमबार डिजिटल माध्यमबाट क्याप्टेन, भाइस क्याप्टेन तथा इको क्लबको नेतृत्व चयन गरेको छ । जुन जिल्लामै पहिलो पटक यसरी डिजिटल माध्यमबाट निर्वाचन गराएको दावी गर्छ । निर्वाचन सकिएको १५ मिनेट भित्रै नतिजा पनि सार्वजनिक भयो ।
यसले ढिलासुस्ती पनि गरेन्, भने मतदान गर्नकालाई सहज पनि भयो । विद्यार्थीहरु पनि एक घण्टामै मतदान गरे भने १५ मिनेटमै नतिजा आयो ।“हामीले विद्यालयमा डिजिटल निर्वाचनको अभ्यास गर्न खोजेको हो, यो जिल्लामा पहिलो हो”, संस्थापक भोजराज न्यौपानेले भने“यसले न त झनझट, न त बदर हुने समस्या नै भयो ।”
विद्यार्थीहरूमा नेतृत्व विकास र जिम्मेवारीको भावना जागृत गराउन यस्तो अभ्यास गरिएको उनले बताए । भाइस प्रिन्सिपल महेश लामिछानेले डिजिटल प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासको अनुभव दिलाउन खोजिएको बताए ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराईएको थियो ।
जुन निर्वाचनबाट इको क्लबको अध्यक्षमा अभिन बस्नेत, उपाध्यक्षमा सफल न्यौपाने, सचिवमा सार्थक न्यौपाने चयन भएका छन् । उनीहरूसँगै ५ जना सदस्य गरी जम्मा ८ जना विद्यार्थी नयाँ कार्यसमितिमा निर्वाचित भएका हुन् ।
यस्तै, स्कुल क्याप्टेनतर्फ जीभा बुढाथोकी क्याप्टेन र सुमन डाँगी भाइस क्याप्टेन पदमा विजयी भएका छन् ।
निर्वाचन प्रक्रियामा पर्यवेक्षकको भूमिकामा पत्रकार दीपक बोहरा रहेका थिए भने निर्वाचन अधिकृतको जिम्मेवारीमा पत्रकार आशिष केसी रहेका थिए । निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र सफल रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
ईको क्लबमा निर्वाचित विद्यार्थीहरूले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूलाई सञ्चालन गर्ने, विद्यालय प्रशासनसँग समन्वय गर्ने, वृक्षारोपण सरसफाई अभियान सञ्चालन गर्ने लगायतका जिम्मेवारी बहन गर्नेछन् ।



लाइभदाङ । १० जेष्ठ २०८२, शुक्रबार २२:५५ बजे