स्व. नेता खुमबहादुरको सम्झनामा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुँदै

दाङ,१३ पुस । नेपाली काँग्रेसका नेता स्व. खुमबहादुर खड्काको सम्झनामा दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।युथ क्लब अफ तुलसीपुरको आयोजनामा यही पुस १६ गतेदेखि १८ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष बसनत गिरीले बताए ।

स्व. खड्काको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित उक्त प्रतियोगितामा देशभरका २५ जिल्ला ३ विभागिए टोलीले सहभागिता जनाउने छ । क्लबका सल्लाहकार अरुण लहरेका अनुसार देशभरका करिब २ सय खेलाडी दाङ आउनेछन् । ३ इभेन्टमा खेल हुनेछन् । प्रतियोगिताका विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र र पदक हात पार्ने आयोजकले जनाएको छ।


तुलसीपुरको कभर्ड हलमा खेलमा सहभागि खेलाडीहरुको बस्ने, खाने र यातायात खर्च आयोजकले व्यहोर्ने छ भने खेलमा सहभागि हुन आउने भाडा उपलब्ध गराउनेछ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमालले गर्ने छन् । उद्घाटन पुस १६ गते बिहान ९ बजे हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि १७ लाख रुपैयाँभन्दा बढी लाग्ने आयोजकले जनाएको छ ।