दोहोरो करको मारमा परेपछि तुलसीपुरका अटो समितिले भेटे मेयर

तुलसीपुर, २ जेठ । दाङ तुलसीपुर उपमहानगरपालिकाले अटो रिक्सा सूचिकृत गर्न थालेको छ । सूचिकृतकालागि एक हजार पाँच सय राजश्व लिन थालेपछि भने अटो रिक्सा प्रालिहरुले नगर प्रमुख टिकाराम खड्कासंग भेटेर ध्यानाकर्षण गराएका छन् ।

तुलसीपुरमा क्रियाशिल पाँच वटा समितिका प्रमुख तथा प्रतिनिधिहरुले विहीबार प्रमुख खड्कासंग भेटेर ध्यानाकर्षण गरेका हुन् । उनीहरुले यसरी दोहोरो कर नलिन भनेका हुन् । अटो रिक्साहरुले ११ हजार बढि कर यातायात कार्यालयमा बुझाउने गरेको भन्दै उपमहानगरपालिकामा पनि एक हजार पाँच सय रुपैँया लिदा ब्यबसायीहरु दोहोरो मारमा पर्ने दाङ भ्याली यातायात प्रालिका कार्यालय प्रमुख महेन्द्र महराले बताए ।

सवारी दर्ता तथा बार्षिक सवारी कर भनेर उपमहानगरपालिकाले पनि लिने र यातायातले पनि यही शीर्षकमा कर उठाउने गरेको उनको भनाई छ । उपमहानगरपालिकाले बनाएको अटो रिक्सा, इलेक्ट्रिक रिक्सा तथा टेम्पोको रुट इजाजत तथा ब्यबस्थापन सम्बन्धि कार्यविधि २०७९ बमोजिम संघ वा प्रदेशका जुनसुकै निकायमा दर्ता भएको भएमा छुट्टै कर नलाग्ने स्पस्ट लेखेको समेत उनले बताए । केही दिन अघि अटो रिक्सालाई धरपकड गर्ने कार्य समेत भएको उनको भनाई छ ।


त्यस अवसरमा उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अटो रिक्सालाई ब्यबस्थित गर्न खोजेको बताए । केही बाधा भएमा आगामी आर्थिक बर्षदेखि फुकाउने समेत बताए ।

तुलसीपुरमा दाङ भ्याली यातायात प्रालि, नमस्ते एकता यातायात प्रालि, पश्चिम छहरा यातायात, जनसेवा यातायात प्रालि, सिद्ध चमेरे गुफा यातायात प्रालि क्रियाशिल छन् । यी अटो रिक्सामा दुई हजारको हाराहारीमा अटो रिक्सा रहेका छन ।