टरिगाउँ एयरपोर्टकालागि दिपक गिरीले मागे साढे ३ अर्ब बजेट

तुलसीपुर, ३० वैशाख । दाङको टरिगाउँ स्थित एयरपोर्टकालािग प्रतिनिधिसभा सदस्य दिपक गिरीले ३ अर्ब बजेट मागेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीले आगामी आर्थिक वर्षको बजेटमा तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारसँग माग गरेका हुन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा उनले हरेक वर्ष नीति तथा कार्यक्रममा विमानस्थल स्तरोन्नतिको वाचा गर्ने तर बजेटमा प्राथमिकता नदिने प्रवृत्ति रहेको भन्दै त्यो अन्त्य हुनपर्ने बताए ।


“अस्ति प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा दाङ एयरपोर्ट बन्ने घोषणा गर्दा हामीले ताली बजायौँ। तर, त्यो कुरा फेरि नाटकीय ढंगले हराउन दिनुहुँदैन,” उनले भने “नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब हुँदा विकल्पको रूपमा प्रयोग गर्न सकिने यो विमानस्थलका लागि धेरै ठूलो रकम पनि चाहिँदैन – तीन अर्ब ४२ करोडमात्रै हो ।

दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद गिरीले यसअघि पनि पटक–पटक विमानस्थलको विकासको लागि आवाज उठाए पनि ठोस कार्यान्वयन नदेखिएको बताए । टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तार नहुँदा अहिलो ठूला जहाज बस्न सकेका छैनन् । ठूला जहाज बस्न नसक्दा सेवा अनियमित हुने गरेको छ ।