पूर्व जनमुक्ति सेनाहरुद्वारा सञ्चालित सहकारी संस्थाकाे कार्यालय उद्घाटन

तुल बहादुर कवँर मगर
दाङ, २८ मंसिर ।
पूर्व जनमुक्ति सेनाहरु द्वारा सञ्चालित जनमुखी सेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे कार्यालय बुधबार राप्ती गाउँपालिका वडा नं.८ पिपरी नयाँ बजारमा उद्घाटन गरिएकाे छ।

दाङ जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका पूर्व जनमुक्ति सेनाहरु संगठित भई आर्थिक सम्वृद्वि तर्फ अग्रसर हुने उदेश्यले संस्था स्थापना गरि सञ्चालनमा ल्याइएको हाे।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार कार्यालयकाे उद्घाटन गर्नु भएको छ। कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्टले देशको व्यवस्था परिवर्तन गर्न इतिहास रचेका पूर्व जनमुक्ति सेनाहरु अब सहकारीको माध्यमबाट आर्थिक सम्वृद्धि तर्फ लाग्नुपर्ने बताउनुभयाे।

त्यस्तै उहाँले सहकारीलाई उत्पादन सँग जाेडी राेजगारी सिर्जना गर्न समेत सुझाव दिनु भयो । संस्थाका अध्यक्ष विन प्रसाद पुन मगर ‘टार्जन’ले पछिल्लो समय सहकारी संस्था सञ्चालन गर्न विभिन्न चुनाैती र विकृतिहरु देखिए तापनि आफूहरूले कुशल र पारदर्शी रूपले सञ्चालन गर्ने बताउनुभयो ।


सहकारी जिल्ला भरि छरिएर रहेका पूर्व जनमुक्ति सेनाहरुकाे भेटघाट, छलफल र सहकार्य गर्ने थलो सँगै आर्थिक सम्वृद्वीकाे माध्यम समेत भएको उहाँको भनाइ छ।

जिल्ला भरि एक हजार पाँच सय बढी पूर्व जनमुक्ति सेनाहरु रहेकाे बताइएको छ। शुरुआती चरणमा सीमित शेयर सदस्य रहे तापनि यसलाई विस्तार गर्दै लैजाने संस्थाका उपाध्यक्ष दिपेन्द्र कुमार घर्ती ‘प्रभाकर’ले बताउनुभयो ।

संस्थाका अध्यक्ष विन प्रसाद पुन मगर ‘टार्जन’काे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरुकाे सहभागी रहेको थियो ।

संस्थाका संस्थापक शेयर सदस्य परिमान बुढा मगर ‘क्षतिज’ काे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव मान बहादुर शाही ‘प्रभात’ले गर्नु भएको थियो । संस्थाले पहिलो चरणमा शंकर माध्यमिक विद्यालय पिपरीकाे करिब सात बिघा जग्गा भाडामा लिएर गहुँ तथा केरा खेती शुरु गरेको छ।