सानीभेरीको तिमीलेमा गाडी दुर्घटना एक जनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिम, २९ बैशाख ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमीलेमा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार दिउँसो लु प्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो जीप दुर्घटनामा पर्दा सानीभेरी–१०, सार्कीमारे निवासी तथा हाल दाङको तुलसीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो।


दुर्घटनामा उहाँकी श्रीमती, माइली आमा र गाडी चालक घाइते भएका छन्। गाडीमा चालकसहित चार जना सवार रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकको स्थानीय मेडिकलमा लगिएको छ।

परिवारका सदस्यहरू कुलपूजाका लागि दाङबाट रुकुम पश्चिम आएका थिए र दाङ फर्किने क्रममा दुर्घटनामा परेका हुन्। स्थानीयका अनुसार तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भई करिब एक किलोमिटर तल खसेको थियो। घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।