कृषि देशको मेरुदण्ड हो : नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही, ४ जेठ ।
लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले कृषि देशको मेरुदण्ड भएको बताउनु भयो । आत्मनिर्भर सेवा केन्द्र लमहीले शुक्रबार लमहीमा आयोजना गरेको बटैया करार खेति र जग्गा उपयोग सम्बन्धि गोष्ठीमा बोल्दै नगर प्रमुख चौधरीले केही वर्षसम्म देश कृषिमा आत्मनिर्भर रहेको र पछिल्लो समय खेतियोग्य जमिनहरु प्लटिङ हुँदै गएकाले कृषि उत्पादनमा ह्रास आएको उहाँको भनाई छ । तर पनि राज्यले कृषिमा प्रशस्त लगानि गरेको बताउँदै राज्यले गरेको लगानी खेर जान नदिन सबै कृषकलाई आग्रह गर्नु भएको छ । राज्यमात्र नभएर गैरसरकारी संस्थाहरुले पनि कृषि र कृषकका लागि थुप्रै लगानी गरेकोले यस्ता अवसरहरु छोड्न नहुने प्रमुख चौधरीले बताउनु भयो ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले किसानको जीवन स्तर उकास्न कार्य योजना बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । किसानबाट उत्पादित वस्तुहरुको बजारीकरण नहुँदा युवा पिंढीले कृषि क्षेत्रमा जांगर नगरेको अध्यक्ष बुढाथोकीले बताउनु भयो । राजपुरका स्थानीय कृषकले स्थानीय वस्तु प्रयोग गरि उत्पादन गरेमा किसानलाई दुई लाख सम्मको अनुदान र बाहिरबाट कच्चापदार्थ ल्याएर वस्तु उत्पादन गर्ने किसानलाई ५० हजारसम्म दिने कार्यक्रम समेत लागू गरेको उहाँले जानकारी दिनु भयो ।


कृषकले परम्परागत प्रविधिलाई त्यागेर आधुनिक प्रणालीलाई अंगाल्नु पर्ने अहिलेको आवश्यकता भएको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भयो । कृषि र कृषकको जीवनस्तर माथी उकास्न आधुनिक प्रणाली लागू गर्नै पर्छ । किसानलाई शुन्य प्रतिशतमा लगानी गरियो भने मात्र कृषि क्षेत्रमा सुधार हुन्छ’– उपप्रमुख योगीले भन्नु भयो ।

कार्यक्रममा लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका प्रमुख/उपप्रमुख/प्रमुख प्रशासकीय अधिकृत/कृषि शाखा प्रमुख तथा प्राविधिकहरुको सहभागिता रहेको थियो । यो कार्यक्रमको मुख्य उदेश्य बटैया खेतीलाई निरुतसाहित गर्ने र करार खेतीलाई जोड दिने रहेको आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रम अधिकृत गोपाल विकले बताउनु भयो ।