
तुलबहादुर कवँर मगर
मसुरिया, २४ बैशाख।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तापुरमा आयोजित एकदिने एकीकृत घुम्ती सेवा शिविरबाट २ सय ७१ जना स्थानीय नागरिकले विभिन्न सेवा प्राप्त गरेका छन्।
गाउँपालिका तथा वडा कार्यालयसम्म सेवा लिन आउन नसक्ने, ग्रामीण भेगमा बसोबास गर्ने, वृद्ध, अशक्त र अपांगता भएका नागरिकलाई लक्षित गरी बुधबार सञ्चालन गरिएको उक्त शिविरबाट उनीहरूले सहज रूपमा सेवा पाएका हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, ल्याब सेवा तथा औषधि वितरण, पशुपन्छी उपचार, बन्ध्याकरण, परजीवी नियन्त्रणसम्बन्धी जानकारी, रेविज खोप, माटो परीक्षण, रोग तथा कीरा पहिचान र उपचार परामर्श, विषादी रहित अर्गानिक खेतीबारे सल्लाह, नागरिकता सिफारिस, जन्म, विवाह तथा बसाइँसराइ दर्ता, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, पानी परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो।

शिविरमा कुल २ सय ७१ जनाले सेवा लिएका छन्। तीमध्ये स्वास्थ्य जाँच, ल्याब परीक्षण तथा औषधि सेवा १ सय ६२ जनाले लिएका थिए। त्यस्तै पशु सेवा ७१ जना, कृषि सेवा १४ जना, ज्येष्ठ नागरिक परिचयपत्र सेवा ७ जना र पञ्जीकरणसम्बन्धी सेवा १७ जनाले लिएका थिए। एउटै स्थानबाट नागरिकले आवश्यक अधिकांश सेवा प्राप्त गर्नुका साथै आफ्ना गुनासा, समस्या र सुझावहरू राख्न पाउने अवसरसमेत शिविरले प्रदान गरेको थियो। संकलित सुझावहरूलाई गाउँपालिकाले आगामी योजना र कार्यक्रम निर्माणमा प्रयोग गर्ने बताएको छ।
शिविरमा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासिक अधिकृत देवीराम पाठक लगायत अन्य जनप्रतिनिधि, कर्मचारी तथा सेवा प्रदायक निकायहरूको उपस्थिति रहेको थियो।
गाउँपालिकाले यस्ता सेवा शिविरहरू प्रत्येक वर्ष विभिन्न वडामा सञ्चालन गर्दै आएको छ। आगामी दिनमा ग्रामीण भेगमा सेवा पहुँचलाई अझ प्रभावकारी, समावेशी र सहज बनाउने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ। साथै, शिविरमा उत्साहपूर्वक सहभागिता जनाउने सम्पूर्ण स्थानीयवासीप्रति आभार प्रकट गर्दै, यस्ता कार्यक्रमलाई थप सशक्त र नियमित बनाइने जनाइएको छ।




लाइभदाङ । २४ बैशाख २०८२, बुधबार २०:१५ बजे