
तुलसीपुर, २३ बैशाख ।
पढ्ने चाहाना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाई छोड्नु पर्ने बाध्यता हुन्छ । गरीबिले घेरेको हाम्रो समाजको एउटा बाध्यता हो । पढाईमा दख्खल हुनेहरू पनि आर्थिक अभाबकै कारण पढाईबाट बञ्चित हुनुपर्छ । तर, कतिपय अवस्था यस्तो भईदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो ।
घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाई खर्च जुटाउन हम्मे–हम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छिन् । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन्”, उनले भनिन् “तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।”
तुलसीपुर उपमहानगर–पालिका वडा नं. १२ स्थित मेट्रो कलेजमा कानुन विषयमा स्नातक (विएएलएलवी) पढाई सुरु भएपछि अहिले उनी त्यही पढिरहेकी छन् । उनको एउटै इच्छा छ अधिबक्ता(लयर) बन्ने । “सकेसम्म न्यायाधीश बन्ने इच्छा हो”, उनले भनिन् “यदि त्यो सकिएन भने पनि अधिबक्ता बन्ने ठूलो धोको हो ।”
तुलसीपुर–११ निवासी सरु चौधरीको पनि घरको आर्थिक अवस्था कम्जोर नै हो । उनलाई घरबाट पढाई खर्च पु¥याउन हम्मे–हम्मे पर्छ । तर, उनको इच्छा कानुन विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छन् । उनीहरु दुबै जनाले अहिले आठौं सेमेस्टरको अध्ययन गरिहेका छन्।
दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिलाहरू विरलै छन् । यसले पनि उनीहरुलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । “कानुन पढेका थारु समुदायका महिलाहरू त थुप्रै हुनुहुन्छ”, सरुले भनिन् “तर, मािलहरू विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौं ।” कानुन विषय पढ्न चारलाखको हाराहारीमा खर्च लाग्छ ।
सारथी बनेको दिदी घर
उनीहरुलाई हौसला दिने काम गरेक छन्–तुलसीपुर उपमहानगर–पालिकाका उपप्रमुख स्यानी चौधरीले । उनले दिदी घर संस्था मार्फत आर्थिक तथा अन्य सहयोग गर्दै आएकी छन् । “जिल्लामा कानुन विषय पढेका महिलाहरुको संख्या विरलै छ । त्यसैले महिलाहरुले पनि कानुन पढ्नु पर्छ भनेर नै मैले सुरु देखि नै सहयोग गर्दै आएकी छु”,उनले भनिन् “मेरै पहलमा उनीहरुलाई कानुन पढ्न लगाएको र पढाईकालागि नियमित सहयोग गरिरहेको छु ।”
दिदी घर संस्थाकी अध्यक्ष समेत रहेकी उनले आवश्यक खर्च सहयोग गर्दै आएको बताईन् । कानुन पढ्नेहरुलाई मात्रै होईन्, अरु विद्यार्थीहरुलाई पनि सहयोग गरेको उनले बताईन् । तुलसीपुर १० निवासी निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नकालागि आर्थिक सहयोग गर्दै आएकी छन् । विगत लामो समयदेखि उनले आर्थिकसहित शैक्षिक सामग्रीलगायतका सहयोग गर्दै आएकी छन् । उनले यस्ता थुप्रै आर्थिक अभाब भएका विद्यार्थीहरुलाई सहायता दिदै आएको बताईन् । संस्थाले लामो समयदेखि आश्रय विहीन बालबालिकाहरुलाई शाहारा दिदै आएको छ, भने पठन–पाठनमा सहयोग गर्दै आएको छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २३ बैशाख २०८२, मंगलवार ०९:५४ बजे