
तुल बहादुर कवँर मगर
मसुरिया,२१ बैशाख ।
दाङको राप्ती गाउँपालिका वडा नं.७ छोट्की सिसहनियाँमा सञ्चालित एक महिने फेशन डिजाईन सम्बन्धी सीप विकास तालिम आइतबार सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तरगत सो तालिम सम्पन्न भएको हो।
तालिम वडा नम्बर ७ का वडा अध्यक्ष सीताराम चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो।
उक्त कार्यक्रममा उपाध्यक्ष चौधरीले निर्वाहमुखी नभई व्यवसायमुखी सोच राख्नुपर्नेमा जोड दिँदै, सामूहिक रुपमा व्यवसाय गर्दा अझ प्रभावकारी हुने, अनुदान प्राप्त गर्न सहज हुने र आत्मनिर्भर बन्न सकिने धारणा राख्नुभयो
त्यस्तै वडाध्यक्ष सीताराम चौधरीले तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगारतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रशिक्षक दिपा बस्नेत र सहभागी सुनिता चौधरीले तालिमका अनुभवहरू साझा गरेका थिए।
तालिममा १६ जना महिलाहरूको सहभागिता रहेको थियो। तालिम पश्चात पालिकाको तर्फबाट सहभागीलाई दुई थान इन्टरलक मेसिन प्रदान गरिएको उद्यम विकास सहजकर्ता बिनिता चौधरीले जानकारी दिनुभयो।



लाइभदाङ । २१ बैशाख २०८२, आईतवार २१:१० बजे