हिमाल एकाडेमीका शिक्षकमाथि विद्यार्थीद्वारा खुकुरी प्रहार

दाङ, १९ वैशाख ।  दाङको तुलसीपुरमा एक विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकमाथि धारिलो हतियार (खुँडा) प्रहार गरेका छन्।

शुक्रबार बिहान करिब १०:३० बजे तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल एकाडेमीको स्कुल परिसरभित्र उक्त घटना भएको हो।

प्रहरीका अनुसार रजौरा निवासी ३७ वर्षीय शिक्षक विशेष श्रेष्ठमाथि रक्षाचौरका करिब १९ वर्षीय सुरेश सुनारले एक्कासी खुँडा  प्रहार गरेका थिए।


 श्रेष्ठको बाँया काँध र दुबै हातको पाखुरामा चोट लागेको छ। घाइते श्रेष्ठको अवस्था मध्यम रहेको र उनकाे नागरिक केयर अस्पताल, तुलसीपुरमा उपचार भईरहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।

शिक्षकले कुटेको भन्दै विद्यार्थीले बदला लिन खुँडा प्रहार गरेको बुझिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बिषयमा अनुसन्धान भईरहेकाे छ ।