दाङमा बालबालिकालाई पोलियो खोप अभियान चलाईने

तुलसीपुर, ११ जेठ । दाङमा बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन हुन लागेको छ । दुई चरणमा दाङमा उक्त खोप लगाउन लागिएको हो । पहिलो चरणमा जेठ १३ गतेदेखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिकासहित शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकामा कार्यक्रम चल्नेछ ।

त्यस्तै जेठ २२ देखि २६ गतेसम्म दोस्रो चरणमा घोराही उपमहानगरपालिका सहित लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र बंगलाचुली गाउँपालिकामा सुरु हुने छ । दाङमा ३७ हजार ७ सय ५५ बालबालिकालाई उक्त खोप लगाउने तयारी रहेको छ ।
शुक्रबार तुलसीपुरमा पालिका स्तरीय खोप समन्वय समिति, सरोकारवाला तथा सञ्चारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी दिईएको हो । उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन महाशाखा प्रमुख ओमपी न्यौपानेका अनुसार तुलसीपुरमा मात्रै ११ हजार पाँच सय जनालाई खोप लगाउने तयारी छ ।

सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित देशभर यो अभियान सञ्चालन गर्दैछ ।

नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको हो । नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था रहेको शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।


त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ ।

तुलसीपुर एकसय ४८ विद्यालय, एक सय ५२ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराईनेछ । यस बर्ष खोप कार्यक्रम ९५ प्रतिशत बनाउने तयारी छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खोप कार्यक्रमलाई सबैले सफल बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए ।