कक्षा १२ को परीक्षा बैशाख २१ देखि सुरु हुने

काठमाडौं, १९ बैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुने पक्का गरेको छ। बोर्डले पछिल्लोपटक स्पष्ट गर्दै सामाजिक सञ्जालमा देखिएका भ्रामक सूचनामा नलाग्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गरेको छ।

बोर्डका अनुसार यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तालिका बनाइएको थियो। तर, नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षा सारिएको थियो। हाल महासङ्घसँग भएको सहमतिपछि बोर्डले निर्धारित परीक्षा केन्द्रहरूबाटै परीक्षा सञ्चालन हुने जनाएको छ।


बोर्डले आफ्नो आधिकारिक सूचना केवल आफ्नो वेबसाइटमार्फत आउने भएकाले फेसबुक वा अन्य अनधिकृत माध्यममा देखिएका पोस्टप्रति विश्वास नगर्न सचेत गराएको छ। साथै, परीक्षा सुचारु बनाउन केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी र अभिभावकहरूको सहयोगको अपिल समेत गरेको छ।