
दाङ, २३ असार ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले सकारात्मक कदम भन्दै स्वागत गरेको छ । अध्यक्ष खेमनारायण पराजुलीले एक विज्ञप्ति जारी गरि अर्थतन्त्रलाई गतिशिल बनाउने सकारात्मक दस्तावेज भन्दै गरेका हुन् । महासंघले यो नीति उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न र निजी क्षेत्रमा उत्साह भर्न केन्द्रित रहेको उल्लेख गरेको छ ।
अध्यक्ष पराजुलीका अनुसार मौद्रिक नीतिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम राख्ने र ब्याजदरलाई स्थिर एवं व्यवसायमैत्री बनाउने लक्ष्य राख्नु सुखद पक्ष हो । विशेष गरी कृषि, पर्यटन, निर्यात, र साना तथा मझौला उद्यम जस्ता उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रलाई प्राथमिकता दिने नीतिगत व्यवस्थाको महासंघले प्रशंसा गरेको छ । यसबाट समग्र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्ने महासंघको ठहर छ ।
तर, यसमा व्यवहारिक पक्षहरूमा अझै सुधारको आवश्यकता रहेको महासंघले औंल्याएको छ। कार्यशील पुँजी कर्जा व्यवस्थालाई थप व्यवहारिक बनाउन, कर्जा पुनर्संरचना र पुनरतालिकीकरणलाई सहज बनाउन, तथा बैंकिङ सेवा शूल्क र स्प्रेड लागत घटाउन थप पहल हुनुपर्ने अध्यक्ष पराजुलीले बताए ।साना उद्यमीका लागि सरल र सुलभ कर्जा प्रणाली विकास गर्न पनि महासंघले माग गरेको छ ।
अध्यक्ष पराजुलीले मौद्रिक नीतिको सफलता यसको प्रभावकारी र व्यवहारिक कार्यान्वयनमा भर पर्ने समेत बताए । नीतिगत व्यवस्थालाई सहज र व्यवसायमैत्री ढंगले लागू गर्न महासंघले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर सहकार्य र सुझाव आदानप्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।



लाइभदाङ । २३ असार २०८३, मंगलवार २१:३७ बजे