राप्ती गाउँपालिकामा रासायनिक मल प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन

तुल बहादुर कवँर मगर
मसुरीया, १७ बैशाख ।
दाङको राप्ती गाउँपालिकामा रासायनिक मल प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ सञ्चालन गरेको उक्त कार्यक्रममा कृषकहरूलाई रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिने, विषादीको सट्टामा प्राङ्गारिक मल र जैविक विषादी प्रयोगलाई प्रोत्साहन गर्ने तथा दीगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने बारे जानकारी गराइएको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिनुभयो।

गाउँपालिकाको योजना अनुसार नौ वटै वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन भइरहेको छ। हालसम्म वडा नम्बर १,२, ४ र ७ मा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा पनि चाँडै कार्यक्रम सञ्चालन गरिने तयारी रहेको शाखा प्रमुख गडरियाले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि शाखा प्रमुख बरसाती गडरिया, कृषि अधिकृत प्रदिप खत्री र प्राविधिक निर्मला गिरीले कृषकहरूलाई विषादीको सुरक्षित विकल्प, जैविक मल तथा जैविक विषादी बनाउने प्रविधि सम्बन्धी प्राविधिक जानकारी र प्रशिक्षण प्रदान गर्नुभएको थियो।


कृषकहरूको उल्लेख्य सहभागिता देखिएको छ। सहभागीहरूले विषादी प्रयोग घटाउँदै सुरक्षित र स्वस्थ कृषि प्रणालीतर्फ उन्मुख हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार राप्ती गाउँपालिका वडा नं.७ मा आयोजित सचेतना कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले रासायनिक विषादीको अन्धाधुन्ध प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भएकाले अब सचेत हुन जरुरी रहेको बताउनुभयो। उहाँले दीर्घकालीन रूपमा सुरक्षित र विषादीमुक्त कृषि प्रणाली विकास गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

राप्ती गाउँपालिकाले कृषकहरूलाई निरन्तर प्राविधिक सहयोग प्रदान गर्दै जैविक कृषि प्रवर्द्धनमार्फत गाउँपालिकालाई विषादीमुक्त क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।