घोराही उपमहानगरद्धारा बिपद् जोखिम न्यूनीकरणका लागि सचेतीकरण सञ्चालन

विमल योगी,
दाङ,२८ कार्तिक ।
घोराही उपमहानगरपालिकाले विपद्जन्य घटनाबाट हुने क्षती कम गर्नका लागि स्थानीय सरोकारवालाहरुलाई सचेतना दिन थालेको छ । उपमहानगरपालिकाको बन,बातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा नरगका १९ वटै वडामा सचेतना दिन थालिएको हो ।

वडास्तरीय विपद् व्यवस्थापन समितिलाई विपद्को परिचय, यसका असरहरु, विपद्बाट बच्ने संभावित उपायहरु, राहत तथा उद्धारका लागि आवश्यक मापदण्ड,समितिको परिचालन तथा कार्यक्षेत्रका वारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बन,बातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख मदन कुमार वलीले जानकारी दिनुभयो ।

वडामा रहेको जनप्रतिनिधि,राजनितिक दल,सुरक्षा निकाय,स्थानीय रेडक्रश,स्वास्थ्य संस्था,प्रहरी,सामाजिक संघसंस्था तथा क्लवहरुका प्रतिनिधि सहितको विपत व्यवस्थापन समितिलाई पुनर्ताजगी अभिमुखीकरण गराउनका लागि वडा नम्वर १ देखी ८ सम्म कार्यक्रम सम्पन्न गरिसकिएको छ । जस अन्तरगत वडा नम्वर १ र २ को २ नम्वर वडा कार्यालयमा,वडा नम्वर ३,४ र १७ को १७ नं. वडा कार्यालयमा,वडा नम्वर ६ र ५ को ६ नम्वर वडा कार्यालयमा,७ र ८ को ७ नं. वडा कार्यालयमा कार्यक्रम सम्पन्न गरिएको शाखा प्रमुख वलीले जानकारी दिनुभयो ।


७ नम्वर वडाका सदस्य यमकला कुमारी पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवालाहरु एक आपसमा समन्वय र सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् । विपद्जन्य घटना कुनै जानकारी दिएर नआउने भएकाले यसबाट बच्न जोखिम क्षेत्रमा बिशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा वडा नम्वर ७ का वडा सदस्य चिज बहादुर चौधरी,वडा नम्वर ८ का वडा सदस्य जंग बहादुर चौधरी लगायतले बोल्नुभएको थियो । वडा नम्वर ७ र ८ का ३० बढिको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बन,बातावरण तथा विपद् व्यवस्थापन शाखाका बन प्राविधिक दिक्षा वस्नेतले गर्नुभएको थियो ।