
दाङ, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिकाको गाडीले ठक्कर दिँदा दाङमा चार वर्षिया बालिकासहित दुईजना घाइते भएका छन् । सो गाडी उपमहानगरकी अधिकृत रेवा रावतले चलाएकी थिइन् ।
तुलसीपुर-६ सुकौरा रोडको पानी टयाङ्की नजिकै तुलसीपुर उपमहानगरपालिकाको रा १ झ १४२ नम्बरको गाडीले प्र.२००१ प १६७९ नम्वरको स्कुटरलाई आज बिहान ९:२० बजे ठक्कर दिएको इप्रका तुलसीपुरका प्रवक्ता इन्सपेक्टर सुर्य रानाले जानकारी दिए ।
रानाका अनुसार ठक्करबाट स्कुटी चालक तुलसीपुर-५ का ४२ वर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ वर्षकी प्रिन्स बुढाथोकी घाइते भएका हुन् । शंकरको खुट्टामा र प्रिन्सको टाउको, छाती, मुख र निधारमा चोट लागेको छ । घाइते दुवैको उपचार राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।गाडी तुलसीपुर उपमहानगरपालिका प्रमुख चढ्ने गाडी हाे ।



लाइभदाङ । १६ बैशाख २०८२, मंगलवार १५:१३ बजे