कैदीका नाईके भगाउन तीन जनाको मिलेमतो

तुलसीपुर
८ पुस / दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार तीन जनाको मिलेमत्तोमा भगाएको खुल्न आएको उनले बताए ।

एक जना प्रहरी जवान र दुई जना बाहिरका मान्छेको मिलेमतो रहेको पुष्टि भएपछि सोही अनुसार अनुसन्धान अघि बढाएको उनको भनाई छ । प्रहरी जवान धनबहादुर चौधरीलाई विहीबार नै पक्राउ गरि अनुसन्धान थालिएको छ । अन्य दुई मध्ये एक जनालाई पक्राउ गरि सकिएको र अर्का एक जनाको खोजी भइरहेको प्रहरी प्रमुख समेत रहेका काफ्लेले बताए ।‘तीन जनाको मिलेमत्तोमा भगाउन सहयोग गरेको खुल्न आएको छ, ति मध्ये एकजनालाई हामीले पक्राउ गरि सक्यौं’, उनले भने‘अर्का एकजनाको पनि खोजी कार्य भइरहेको छ ।’ अहिले अनुसन्धानमै रहेकाले उनीहरुको नाम भने केही समय पछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।


कैदीका नाइके समेत रहेका उनलाई कतब्र्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला भइ घोराही कारागारमा जेल जीवन विताई रहेका दाङ राजपुर गाउँपालिकाको बेलाका निवासी २७ बर्षीय यामराज परियार बिहीबार विहान ११ बजेतिर प्रहरी कै मोटरसाईकल लिएर भागेका थिए । छालाको विरामी देखिएका उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकालागि लगिएको र उपचारका क्रममा ति ब्यक्तीको हतकडी खोलिएको थियो ।

त्यही मौकामा उनी प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईल चढेर फरार भएका हुन् । उनलाई प्रहरी जवान चौधरीले नै मोटरसाइकलमा राखेर अस्पताल लिएका थिए । घटनाका विषयमा प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाईएको आशंका गरिएको छ । ति कैदीले सातबर्ष जेल जीवन विताईकेका थिए ।