हामी खस

–डोर बहादुर विष्ट (मानवशास्त्री)
“खसहरू सबै जातीय हिसाबले ककेसियन हुनाले बाहुनको जस्तो मिल्ने अनुहार लिएर क्षत्री भनाउन अरू जनजातिलाई भन्दा सजिलो पनि परेको थियो । त्यसो त खसमध्येका केही पेसागत काममा लागेका दमाई, कामीहरूलाई चाहिँ पानी नचल्ने अछूतको तहमा खसाल्न पनि सजिलो भएको थियो । त्यही पृष्ठभूमिका सबै दमाई, कामीको अनुहार अरू कुनै जनजातिसँग नमिलेर बाहुनक्षत्रीसंग मात्रै मिल्ने गरेको उदाहरण पनि त हाम्रोसामु छँदै छ । तर पनि जातीय कारणले गर्दा एकातिर बाठाटाठाहरूलाई बाहुनक्षत्री बनेर हिंड्न सजिलो भएको थियो भने त्यही नै कारणले अर्कोतिर ककेसियन शब्दबाट नै ककेसस–खखेसस हुँदै कालान्तरमा खस भनिन पुगेका मानिसहरूलाई खसेको भन्ने अर्थ लगाएर त्यत्रो ठूलो जनसमुदायलाई लघुताभास थोपर्न पनि सजिलो पारिएको थियो ।”

हामी खस भन्ने जाति पनि धेरै रमाइलो इतिहासको भारी बोकेर बसेका रहेछौ भन्ने कुरा बल्ल आजभोलि आएर हामीलाई थाहा हुन थाल्यो । नत्र यसअघिसम्म त खस भन्ने जाति नेपालमा छँदै छैन भनेर हामीहरू नै जिद्दी गरेर हिडिरहेका थियौ । हामीजस्ता सर्वसाधारण मानिस मात्रै कहाँ हो र, थुप्रै हाम्रा खस दाजुभाइहरूले आफू सफल, सम्पन्न र ठूला मानिस भएको बेला ठकुरी क्षत्री बनेर बाँकी हामीजस्ता गरिब, अशिक्षित मानिसहरूलाई आफन्तै भए पनि खसेका मतवाली भन्दै तल्ला जातमा खसालेर राख्न खस पावै भन्ने अपमानजनक शब्द प्रयोग गर्दै आएका थिए । त्यसै कारणले हामीहरूलाई पनि आफू खस हौ भनेर स्वीकार गर्न धेरै लाज लाग्ने गथ्र्यो । कसैले हामीलाई खस भनेमा रिसाउने र चित्त दुखाउने गर्दै आएका थियौं । त्यसो त आज पनि थुप्रै खसहरूलाई हामी खस हौ भनेर स्वीकार गर्न लाज र असजिलो लाग्छ । खसको रूपमा घृणापूर्ण व्यवहार पाउँदै आएका हुनाले हामीलाई खस भनिंदा अपमानित भएजस्तो लाग्छ । तर खस नभनेर अरू कुनै नाम राख्न मिल्ने हाम्रो जातीय अर्को नाम पनि त छैन ।

केही बाहनहरूले दक्षिणा र दान लिनाका लागि हाम्रा पुर्खाहरूलाई फकाएर उनीहरूलाई मतवाली क्षत्री भन्न सिकाएछन् । मतवाली हुनाले घरघरमा जाँड–रक्सी बनाएर खाने, कुखुरा खाने अनि आफ्ना जातीय सबै देवतालाई पनि जाँड–रक्सी, कुखुराको मासु चढाउनुपर्ने बाध्यता भएका हामी बसलाई क्षत्री शब्दले परिभाषित गर्न मिल्ने कुरा त थिएन । तर आफूले ठगी खान सजिलो हुने हुनाले हाम्रा सोझा, लाटा पुर्खालाई क्षत्री भनेर फकाउने बाहुनले ठूलो गुन लाएको ठानेर हाम्रा पुर्खाले उनीहरूलाई दानदक्षिणा दिँदै, ढोगदर्शन गर्दै आएछन् । बाहुनले चाहिँ हामीजस्ता मतवालीका घरमा कर्मकाण्ड गर्न पस्यो भने आफू अपवित्र होइन्छ भनेर हाम्रा घरमा विवाह, ब्रतबन्ध, सुत्केरी, न्वारान, पास्नी पर्दा, काजकिरिया पर्दा कुनै बेला पनि पुरेतको काम गर्न आउने गरेका छैनन् । तैपनि हामीचाहिँ आजसम्म ती हामीलाई झुक्याएर थाङ्नामा सुताउने बाहुनलाई गोडामा ढोग्ने र वर्षमा एकपल्ट उड़ती उठाउन आएको बेला राडी, नेऊ, फेरुवा, पाखी, बाढी, पाडी, पाठा र खसीका साँप्रा आदि महंगा सामानको दान, र नगद दक्षिणा दिने गरिआएकै छौं । हाम्रो मुख्य पेसा पशुपालन र खेती भएको हुनाले बाहुनलाई दान दिने सबै सामान आफ्नो पसिना र परिश्रमद्वारा उत्पादित वस्तु हुन्छन् ।

घरमा परेको सामाजिक, धार्मिक, सांस्कृतिक कामजति सबै हाम्रै धामीवाट गराउने र मष्ट, बॉटपल, ह्यांगरे, गुरा, पार्प, कालशिल्त, दारे, बाविरो, रुम बुढु, म्हावै, खापर मरुद्धा, लामा आदि कहिलेकाही बाहू मष्ट भनिने अवैदिक देवता मान्ने हामी खसलाई बाहुनले मान्ने देवताको नामसम्म पनि थाहा छैन । तैपनि आफूलाई क्षेत्री भनाउने रहरमा अधिल्तिर मतवाली भन्ने विशेषण लगाएर भए पनि हाम्रा घरदैलोमा पुरेत काम कहिल्यै नगर्ने बाहुनलाई महंगा सामानको दान र गरिब भए पनि नगद दक्षिणा दिदै आएका छौ ।

बाहुन, क्षत्री, ठकुरीबाट सधै तिरस्कृत र अपमानित हुँदै आए पनि आफूलाई क्षेत्री ठहराउने रहरमा हामीले आजसम्म जनजाति बन्न खोजेनौ । तर यसो गर्दा हामी घरका न घाटका बनेर ज्यादै लघुताभासको ग्रन्थिलाई बँदिरले बोकेको मरेको बच्चोजस्तै गरेर बोकेर बस्यौ । हामी मात्रै होइन नेपाली समाजको अध्ययन गर्ने समाजशास्त्र, मानवशास्त्रका विद्वानहरूले समेत हाम्रो उपेक्षा गरिदिए । नेपालका विभिन्न जनजातिका बारेमा थुप्रै अनुसन्धानात्मक ग्रन्थहरू लेखिंदा पनि हाम्रोबारेमा आजसम्म कसैले चासो लिएका छैनन् ।

कोही–कोही ज्यादै ठूलो ख्याति प्राप्त गरी शीर्षस्थ ओहदामा पुगिसकेका नेपालका मूर्धन्य इतिहासकार त खÞस भन्ने शब्द मात्रै सुन्दा पनि रिसले रन्थनिने गर्दथे रे भन्ने कुरो हामीले सुनेका छौं। खस भन्ने हुँदै नभएको कुरा हो भनेर जिद्दी गर्थे रे । सायद उनले पनि अरू धेरै मानिसले जस्तै पहिलेका खसजति सबै ठकुरी क्षत्री र खसका धामीजति सबै बाहुन बनिसके भनेर ठानेका थिए होला । तर यथार्थचाहिँ त्यस्तो छैन । अरु दसौं लाख हामीजस्ता खस बाँकी नै छौ । हामीले अझै क्षत्री ठकुरी र बाहुन बनिसक्न पाएका छैनौं । तैपनि खसका माथिल्ला तहका ठूला ठालूजतिलाई जनै लगाइदिने काम उहिले नै पूरा भैसक्यो भन्ने ठानेर होला केही उपकारी पण्डित बाहुनहरू पूर्वतिर लागेर राई, लिम्बू, सुनुवार र तामाङहरूलाई व्रतबन्ध गरेर जनै लगाइदिने काममा व्यस्त हुन थालेका छन् रे भन्ने कुरा पनि हामीले सुनेका छौं ।

प्राचीनकालदेखि नै पश्चिम हिमाली क्षेत्रमा विशाल खसान साम्राज्यको निर्माण गर्न सफल भएका प्रतापी खस राजा र भारदार–हरूले पछयाउदै आएको रीतिथितिलाई अपमान गरी तलमाथिको जातजातिमा विभाजन गरेर खस समाजलाई टुक्रयाई फुटाइ गरी अधोगतिमा धकेलेको उदाहरण अझै पनि जुम्ला, मुगु, हुम्ला, दैलेख, जाजरकोटतिर अरु विशेष गरी सिंजातिर राम्रैसंग हेर्न पाइन्छ । तर ती ठगिएका खसहरूलाई यी सबै कुराको ज्ञान र चेतना आजसम्म भएको छैन । अलिकति जान्ने बुझने हुनेबित्तिकै आफ्ना बाबुबाजेले रस्तीबस्ती गरिआएको थलोलाई छोडेर अरू ठाउँमा गएर बस्ने अनि आफूचाहि क्षत्री बनेर आफ्नै दाजुभाइलाई खस पावै भनेर हेलाँ गर्ने खसको स्वाभिमान र आत्मविश्वासको अपहरण गर्दै आएका रहेछन् ।

खसहरू सबै जातीय हिसाबले ककेसियन हुनाले बाहुनको जस्तो मिल्ने अनुहार लिएर क्षत्री भनाउन अरू जनजातिलाई भन्दा सजिलो पनि परेको थियो । त्यसो त खसमध्येका केही पेसागत काममा लागेका दमाई, कामीहरूलाई चाहिँ पानी नचल्ने अछूतको तहमा खसाल्न पनि सजिलो भएको थियो । त्यही पृष्ठभूमिका सबै दमाई, कामीको अनुहार अरू कुनै जनजातिसँग नमिलेर बाहुनक्षत्रीसंग मात्रै मिल्ने गरेको उदाहरण पनि त हाम्रोसामु छँदै छ । तर पनि जातीय कारणले गर्दा एकातिर बाठाटाठाहरूलाई बाहुनक्षत्री बनेर हिंड्न सजिलो भएको थियो भने त्यही नै कारणले अर्कोतिर ककेसियन शब्दबाट नै ककेसस–खखेसस हुँदै कालान्तरमा खस भनिन पुगेका मानिसहरूलाई खसेको भन्ने अर्थ लगाएर त्यत्रो ठूलो जनसमुदायलाई लघुताभास थोपर्न पनि सजिलो पारिएको थियो । अनि त खस भन्ने नाम मात्र बाँकी राखेर यस शब्दले वर्णित गरिने मान्छेजति चटकीको हातबाट रुमालले छोपेको परेवा हराएजस्तो गरी हराएकोमा कसरी दुःख मान्नु । यसरी आफन्तबाटै उपेक्षित र अपमानित भैसकेका खसलाई अरूले आदर गर्ने कुरै भएन ।

अधिराज्यभरि जतासुकै छरिएर बसोबास गरे पनि आफ्नो पुख्यौली चलन, रीतिथितिको मर्यादा कायम राखेर बसेका अरू थुप्रै मानिस जनजातिको रूपमा एकत्रित भएर आफ्नो समाजको उन्नतिमा जुटेको बेला पनि खसहरुलाई यसको अत्तोपत्तो छैन । बुझ्नेहरूले यसमा चासो देखाएका छैनन् । उनीहरू त हामी खस होइनौं भनेर भागेर हिडिहाल्छन् । परम्परादेखिको पुरानो थलोमा पुरानै चलन पछ्याएर बसेकाहरूलाई नेतृत्व दिने कोही छैन । त्यसैले उनीहरूमा कुनै किसिमको चेतना र जागरण आउने सम्भावना पनि देखिंदैन ।


जुम्लाका कल्याल शाही राजाका शासनकालमा पौरखी खस–हरुलाई बाघ र बनेलजस्ता डरलाग्दा जनावरहरूलाई मार्न सकेको बेला जनै लाएर क्षेत्री बन्ने अनुमति दिइने गथ्र्यो भन्ने कहावत अझै प्रचलनमा छ । यसरी आजभोलि गोरखा दक्षिणबाहु र त्रिशक्तिपट्टको मानपदवी पाएजस्तै गरी मध्ययुगमा क्षत्रीको मानपदवी राजाबाट पाइने गथ्र्यो भन्ने कुरा सुनेर आश्चर्य मान्नुपर्ने कारण छैन । यसै गरी बाइसी चौविसी क्षेत्रका सम्पूर्ण खस, मगर, भोटे र गुरुङ राजा र भारदारजतिले ठकुरी क्षत्रीको पदवी पनि लिएका थिए । त्यसैले नेपालको सुदूरपश्चिममा बाहेक अरू ठाउँका बहुसंख्यक ठकुरीहरूको अनुहारले (मङ्गोलीय आकृतिको आभास दिइरहेकै हुन्छ) । यो कुरा थाहा पाएर पनि आश्चर्य मान्नु पर्दैन । थाहा पाइसकेको कुरालाई बुझ पचाएर यथार्थभन्दा काल्पनिक कुरालाई प्रचार गरी मानिसलाई अन्धकारमा राख्न खोज्ने प्रवृत्ति कसरी नेपाली समाजभित्र कुन समयमा विकसित भयो भन्ने कुरा थाहा पाउने सकसकी र इच्छाको जागरण नभएकोमा चाहिँ आश्चर्य लाग्नु स्वाभाविक हो ।

बितेको शताब्दीभरि नेपालमा एकतन्त्रीय शासन चलाउने राणाहरू पनि शासन हातमा नआउन्जेल कुँवर भनिने गरेका र यसभन्दा अघिल्लो शताब्दीमा लमजुङको राज्य आफ्नो हातमा आएको बेला खड्काबाट कुँवर बनेका पौरखी खसका सन्तान थिए । अनि यिनै खड्काहरू जनै पहिरेर क्षत्री बन्नुअघिसम्म मतवाली खस नै रहेको हुनुपर्छ भन्ने अड्कल काट्न सजिलो पार्ने गाउँका गाउँ मतवाली खड्काहरू आज पनि कर्नाली प्रदेशमा छँदै छन् । यस्तो कुरो थाहा पाएर पनि आश्चर्य मान्नु पर्दैन किनभने मध्ययुगी सामन्ती मूल्य र मान्यताको बाहुल्य भएको बेला विश्वभरिका जुनसुकै समाजले पनि यसै प्रकारको प्रक्रिया पछ्याएको उदाहरण धेरै नै भेटिन्छन् ।

यस्तो चलन नेपाली समाजको एकलौटी पेवा होइन । उनीहरूको आफ्नै ऐतिहासिक अवस्थाले हाम्रैजस्तो परिस्थितिमा पुयाएको बेला त्यसै गरी औगातलाई तलमाथि पार्ने गरेको यथार्थ भारत, चीन, जापान र युरोपका कैयौं उदाहरणले बताउँछन् । नेपालभित्रै पनि यस्तो प्रक्रियालाई नाएको खसहरूले मात्रै होइन, खसहरूभन्दा अघि उपत्यकाभित्रका नेवारले र अनि खसले भन्दापछि झापाका आजका राजवंशी भनिने कोचेहरूले र कोचेभन्दापछि थाकखोलाका थकालीहरूले पनि यस्तै अभियान चलाएका थिए । पौरखी, सम्पन्न र शक्तिशाली थकालीहरूले चलाएको अभियान अरूको भन्दा धेरैपछि परेको र त्यतिन्जेल धेरै थकालीहरू शिक्षित भैसकेका हुनाले उनीहरूको अभियान बीचैमा लथालिङ्ग हुन पुग्यो । फरक त्यति मात्रै हो, नत्र उद्देश्य र प्रक्रिया एउटै थियो । थकालीहरूले ठकुरी बन्ने अभियान सुरु गर्दा उनीहरू राजनीतिक हिसाबले शक्तिशाली थिएनन् । उनीहरूको अभियान सफल नहुनुको एउटा मुख्य कारण त्यही थियो ।

आपनो जात र औगातलाई सर्वसाधारण जनताको भन्दा माथि उठाउन शक्तिशालीहरूले चलाएको यस्तो अभियान सम्पूर्ण रूपमा सफल भएको उदाहरण पनि कहीं देखिएको छैन । तर त्यसले जुन वर्गबाट समर्थवान् पौरखीहरू माथि उठ्छन्, त्यसैभित्र बाँकी रहेका सर्वसाधारण जनताको बिल्लिबाठचाहिँ हुँदैन । आफै अशिक्षा र अविकसित अवस्थामा रहेको खससमाजको उच्च वर्गले आफूलाई माथि उठाउनका लागि आफूले पौरख गर्नुभन्दा अरूलाई तल खसाल्ने प्रक्रिया अपनाएको हुनाले खस भनिने जनजातिको अवस्था दयनीय हुन पुगेको चाहिँ पक्कै हो ।

हाम्रा हिमाली बस्तीहरूको अवस्था आज पनि यस्तै दयनीय छ । उच्च हिमाली खसबस्तीहरूमा अपरिष्कृत र अशिक्षित बाहुनहरू मात्र बसोबास गर्न पुगेका हुनाले र त्यहाँका खसहरू गरिबीको कारण महत्वाकांक्षारहित हुनाले आजसम्म उनीहरूले बाहुन पुरोहित बनाउन पाएका छैनन् । त्यसैले धामी नै उनीहरूका धार्मिक नेता मानिन्छन् । धामीले जनै दिने कुरो भएन । त्यताका बाहुनले चाहिँ वर्षको एकपल्ट उठ्ति उठाउन मात्रै गाउँ डुल्ने हुनाले विवाह,व्रतबन्ध न्वारान, काजकिरिया श्राद्ध, आदि कुनै पनि कार्यमा पुरोहिल्याई काम गदैनन ।

खसानको पुरानो बस्ती छोडेर पूर्वतिर लागेपछि मात्रै खसहरुले आफ्नो पुरानो परम्परा छोडेर सजिलैसँग जनै लाउन सक्ने हुनाले आफूलाई खस भन्न छोडेर क्षत्री भन्ने गर्दछन् । त्यसैले खस भन्ने जनजाति सुदूरपश्चिममा मात्रै बाँकी रहेका देखिन्छन् । उनीहरूको थर, भाषा र अनुहार एकै हुनाले जात उकालेर क्षत्री बन्न खास गाह्रो पनि पर्दैन । त्यसो त आजकल अनुहारे राई लिम्बु ताम्राङ, सुनुवारलाई समेत धमाधम क्षत्रीमा भर्ती गर्ने काम केही पण्डितहरूले गरिरहेकैछन् ।

खसहरूको थर अधिकारी, ऐडी, खड्का, खडायत, कठायत, थापा, बाभी, धामी, विष्ट, बुढा, बोहरा, बस्नेत, भंडारी, महत, महतारा, रावल, राउत, रेउले, रोकाया आदि हुन्छन् । सबै थरले सबै पूजा गर्ने देवताहरूमा बाहु, मष्ट र भवानी आदि देवता हुने हुनाले जात बदलेर पूर्वतिर लागिसकेपछि तिनै देवताको नामलाई संस्कृतीकरण गरेर बाहुको साटो बराह, मष्ट, मरुत्लाई महारुद्र र भवानीलाई पनि अरू कुनै पौराणिक देवीकै नाम दिएर पूजा गर्ने चलन पनि हुन्छ ।

सुदूरपश्चिमको बैतडी र डडेलधुरामा नेपालको अरू कुनै ठाउँमा नभएको एउटा चलन छ । यहाँ आफ्ना छोरीलाई बेचेर देवतालाई चढाउन दिने देवको र देवकी भन्ने खस जातका मानिस छन् । यो कुरालाई कानुनले वर्जित गरिसकेको निकै वर्ष भएर पनि पुराना दिनमा बेचिएर देवकी भईसकेका अथवा आजकल पनि धार्मिक अन्धविश्वासले थिचिएकाहरूले सुटुक्क लुकीचोरी किनेर देवीदेवता–लाई चढाइएका आइमाई यहाँ भेटिने गर्छन् । यसरी एकपल्ट कसैले किनेर देवतालाई चढाएर देवदासी’ भैसकेपछि फेरि कोही मानिससँग बिहे गरेर औपचारिक रूपमा लोग्ने लिनु हुँदैन भन्ने जनविश्वास अझै कायम छ । तर स्थानीय चलनअनुसार जोसुकै लोग्नेमानिससँग अस्थायी रूपमा सहवास गर्न पाउने हुनाले यहाँ औपचारिक रूपमा बाबु नभएका सन्तानहरू बराबर जन्मिरहेका हुन्छन् । यिनीहरूलाई पनि देवको र देवकी भन्ने चलन अझै कायम छ ।
(सवै जातको फुलबारी दसौ सँस्करण पृ.५६–६१, ISBN:978-99933-2-526-0 साभार)