
तुलसीपुर, २८ चैत ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ पेदा निवासी रामबहादुर घर्ती गोवामा १० वर्ष ‘सेफ’ मा काम गगरेका थिए । १५ वर्षकै उमेर देखि सेफमा काम गरेका घर्ती अहिले भने आफ्नै ठाउँमा जमेका छन् । “अर्काको देशमा सेफ काम गरेँ, धेरै कुरा सिकेँ, गोवामा प्रायः समुद्रको खानाहरु बढि विक्री हुन्थ्यो”,उनले भने “अहिले आफ्नै ठाउँमा व्यवसाय सुरु गरेको छु ।”
उनले तुलसीपुरमा समुद्री खानाको परिकारलाई स्थापित गर्न खोजेका छन् । ‘रोयल फुड किचेन एण्ड रेस्टुरेन्ट’ मार्फत उनले सुसी, तन्दुरी फीस, कबफ, मटन लेमचप, मोजीतो र क्रिस्पी अमेरिकन जस्ता विभिन्न परिकारहरू उपलब्ध गराउने गरेको बताएका छन् । यसले विदेशी नागरिक आएमा पनि त्यस्ता खानाहरू खुवाउन सकिन्छ, भन्ने सन्देश दिन खोजेको उनको भनाई छ ।“हामीले पर्यटक भित्र्याउने कुरा गर्छौं,विदेशी नागरिक आएमा खाना, खाजा खुवाउने तर्फ ध्यान दिएका छैनौं”,उनले भने “त्यसैले पनि हामीले यो कुरामा ध्यान दिएका छौं ।” रेस्टुरेन्टमा नेपाली मात्र नभई चिनियाँ नागरिकहरू समेत आउने गरेका छन् ।
रेस्टुरेन्टमा ग्राहकहरूको विशेष रोजाइमा ‘नाग्लो सेट’ पनि पर्ने गरेको छ । जसमा २५ वटासम्म परिकारहरू रहने गर्दछन् । एक हजार पाँचसय देखि ४ हजार मूल्यसम्मको उक्त नाङ्लो सेट उपलब्ध हुने उनको भनाई छ । तुलसीपुरको विपी चोकमा करिब ४० लाख लागतमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।
रेष्टुरेन्टबाट मासिक ४ देखि ५ लाखसम्म आम्दानी हुने गरेको छ । यसले अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा परिश्रम गरे आम्दानी गर्न सकिन्छ, भन्ने सन्देश पनि दिएको छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २८ चैत्र २०८१, बिहीबार ०८:३३ बजे