लाइसेन्स छापिएको सूचना एसएमएसबाट आएपछि मात्र कार्यालयमा जान अनुरोध

काठमाडौं, १४ चैत ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन अनुरोध गरेको छ ।

कार्यालयले आज सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको भन्दै एसएमएस आएपछि मात्रै लिन जान अनुरोध गरेको हो । यी माध्यमबाट सूचना तथा जानकारी लिएरमात्र सम्बन्धित यातायात कार्यालय पुग्न विभागले सूचित गरेको छ ।


अहिले लाइसेन्स अनुमतिपत्र जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश कार्यालयसँग रहेको भएपनि लाइसेन्स छपाइको काम भने अहिले पनि यातायात व्यवस्था विभागले नै गर्दै आइरहेको छ । लाइसेन्स छपाइको सूची लामो भएको र समयमै छाप्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । छपाइको काम छिटो सम्पन्न गर्न विभाग सचेत र गम्भीर रहेको सूचनामा उल्लेख छ ।

विभागका अनुसार प्रदेश सरकार मातहत कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले परीक्षा उत्तीर्ण गरेपछि त्यसको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा आबद्धता समेत हुने गरेको छ ।