प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा

दाङ १२ चैत । दाङको घोराही उपमहानगरपालिका वडा नं. ९ खैरा स्थित साग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जीसीका अनुसार मंगलबार दिउसोदेखि आगो नियन्त्रणमा आएको हो ।

“प्लाईको कच्चा बस्तु भएकाले कोट्याउँदा धुवा निस्केपनि आगो नियन्त्रणमा आइस्केको छ”,उनले भने “अब जोखिम छैन ।” आगो नियन्त्रणमा आइस्केकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाईसकिएको उनको भनाई छ ।

उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलबस्तुको शिवराज नगरपालिका र रुपन्देहीको दमकललाई पठाईसकिएको छ । दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाको दमकल भने अझै पनि सोही स्थानमै छन् ।


आईतबार विहान १ बजेतिर आगलागी भएको थियो । तर, लामो समयसम्म आगो नियन्त्रण हुन नसकेपछि चौतर्फी आलोचना पनि भएको थियो । सोमबार विहानसम्म पनि नियन्त्रणमा नआएपछि आलोचना भएको थियो । यसले ठूला आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न समस्या हुने कुरालाई पुष्टि गरेको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन ।

करोडौ मूल्यको क्षति भएको अनुगमन गरिएको छ । प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चा बस्तु जलेर नष्ट भएका छन् । सोही उद्योगमा ५ सय बढि कर्मचारीले काम गर्छन् ।