
कुनै समय बोल्न मन लागेको कुरा बोल्न पाइदैनथ्यो । अहिलेजस्तो स्वतन्त्र रुपमा आफ्ना कुराहरु राख्न पाइने अवस्था थिएन । बोल्नेहरुको मुख बन्द गराईन्थ्यो । लेख्नेहरुका औला काटिन्थ्यो । सजिलोसंग हिडडुल गर्न पाइदैनथ्यो । त्यो थियो राजतन्त्र । अहिले सडकमा आएको केही भिडले त्यही व्यवस्था खोजिरहेको छ । जुन व्यवस्था फाल्नकालागि हजारौले बलिदानी दिएका छन् । कतिको मृत्यु भयो । कति अझै वेपत्ता छन् । मानिस त्यतिकै ज्यान दिन तयार थिएनन् । त्यतिबेलाको निरंकुश अवस्थालाई फेर्नकालागि मर्न पनि तयार थिए । त्यसरी नै मुलुकबाट राजतन्त्र अन्त्य गरिएको हो ।
अहिलेको जसरी ‘राजा आऊ, देश बचाउ’ भनेर सजिलै भन्न सकिने अवस्था पनि गणतन्त्रले दिएको हो । त्यतिबेला यसरी बोल्न पाइने अवस्था थिएन । केही बोल्दा पनि सचेत हुनुपर्ने अवस्था थियो । ठूलो, त्याग र बलिदानीपूर्ण ढंगबाट प्राप्त यो उपलब्धीमा आफ्ना कुरा सजिलै राख्न त पाईएको छ, तर, पछाडी फर्किन भने नेपाली जनताले कदापी दिने छैनन् ।
न क्षमता, न कुनै योग्यता । राजपरिवारमा जन्मिएकै भरमा शासन चलाउने कुरा वैज्ञानिक होईन् । अहिले जनताबाटै निर्वाचित, जनताकै छोरो राष्ट्रपति, प्रधानमन्त्री, सांसद हुने व्यवस्था हो । यो सानो परिवर्तन थिएन र होईन । अहिले मुलुकमा समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ । त्यसको कार्यान्वयन भइरहेको छ । यस सन्दर्भमा जनताका आकांक्षा बढ्दै गइरहेका छन् । विगतमा आधारभूत रुपमा सडक सञ्जाल, सञ्चार, विद्युत, शिक्षा, स्वास्थ्यको माग हुन्थ्यो । अहिले तिनै सडक स्तरवृद्धि, स्वास्थ्य, शिक्षालगायतको स्तरवृद्धिको माग बढिरहेका छन् । भोलि त्यो भन्दा पनि विकसित रुपको माग हुँदै जान्छन् । मानिसमा विकासको तिब्र अपेक्षा छ । तर, सीमित स्रोत साधन हुँदा केही अपेक्षा पूरा गर्न ढिलाई भइरहेको र अस्थिर सरकार हुँदा पनि मारमा परिरहेको अवस्था साँचो हो । यसले गर्दा पनि अहिले जनतामा केही असन्तुष्टिहरु भइरहेका छन् । असन्तुष्टिका श्वसहरु अन्तर्गत नै अहिले उठिरहेका बहसहरु सिर्जना भएका हुन् ।
अर्को तर्फ सरकार सञ्चालन गरिरहेकाहरुका पनि केही कमजोरीहरुले जनतामा वितृष्ण पैदा गरिरहेको हुन्छ । जनताका मागमा सम्बोधन हुने गरि र सुशासन कायम गर्ने कुरामा ध्यान नदिदा यस्ता बहसहरु नियमित भइपनि रहन्छन्, र हुनुपनि पर्छ । यसले सरकार सञ्चालकहरुलाई सचेत पनि बनाउने गर्छ । यद्यपी यसलाई कुनै व्यवस्थालाई पछाडी फर्काउने गरि बहस थाल्नु हुँदैन । यस्ता कुराले मुलुकलाई झनै पछि धकेल्छ । यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २८ फाल्गुन २०८१, बुधबार ०८:३५ बजे