तुलसीपुर खानेपानीमा त्रिपक्षिय भिडन्त : मतदाता संरक्षणमा काँग्रेस, तान्ने दाउमा एमाले र माओवादी

दीपक बोहरा
दाङ, २८ फाल्गुन ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकालागि अघिल्लो कार्यकालयमा एउटा समझदारी भएको थियो–सर्वसम्मत । तर, अहिले त्यसो भएन् । तीन वटा प्यानल भए । विगतमा सत्तापक्ष गठबन्धन हुने परिपार्टी पनि हुन्थ्यो । अहिले त्यो भएन । किनकी अहिले सबै अध्यक्षका आकांक्षी भए । विगतमा यस क्षेत्रका ९ राजनीतिक दललाई एक/एक वटा पद दिएर सर्वसम्मत गरिएको थियो । जसमा काँग्रेसले अध्यक्ष, माओवादी केन्द्रले उपाध्यक्ष, एमालेले सचिब, विप्वल नेकपाले कोषाध्यक्ष पाएका थिए ।

तर, त्यो निर्वाचनमा पनि काँग्रेसको गेहेन्द्र गिरी पक्षले विद्रोह गरेपछि कोषाध्यक्षमा गेहेन्द्र पक्षीय भोलाराम थापाले जितेका थिए । तर, अहिले ९ राजनीतिक दलहरूमध्ये तीन ठूला दल–काँग्रेस, एमाले र माओवादी केन्द्र छुट्टा–छुट्टै रुपमा चुनावी मैदानमा होमिएका छन् ।

माओवादी केन्द्रसहित विभिन्न ७ राजनीतिक दलको समर्थनमा बहालवाला उपाध्यक्ष सीताराम शर्मा चुनावी मैदानमा छन्, भने काँग्रेसबाट बहालवाला अध्यक्ष यमकान्त भण्डारी नै अध्यक्षका उम्मेदवार छन्, भने एमालेबाट पूर्व सचिव मनोज लामिछाने चुनावी मैदानमा छन् । उम्मेदवारहरू चुनावमा बाजी मार्ने आ–आफ्नो दाउमा छन् ।

हरेक संस्थामा सफल सिताराम
माओवादी केन्द्रसहित दलको प्यानलको नेतृत्व गरेका सीताराम शर्मा एक कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल उपाध्यक्ष भएर हाल अध्यक्ष लड्न लागेका ब्यक्ती हुन् । यसरी हेर्दा उनले यस अघि नै दुई कार्यकाल खानेपानीमा बिताइसकेका छन् । त्यसरी दुई कार्यकाल खानेपानीमा हुँदा उनले धेरै अनुभव हाँसिल गरिसकेकाले अबको कार्यकालमा नेतृत्व पाएमा खानेपानीमा देखिएका हरेक समस्या समाधान गर्न सहज हुने कुरा उनी बताउँछन् । यसरी नै उनले मतदातालाई प्रभावित पारिरहेका छन् ।

अर्को तर्फ आफू दुई कार्यकाल पूरा गर्दै गर्दा खानेपानीका हरेक समस्या देखिएमा जुनसुकै बेला पनि जनताको घरमा दौड्ने ब्यक्ती भएकाले पनि जित्न सक्ने आधार यसलाई बनाएका छन् । “कहिल्यै पानी आएन भनेर राती सुतिसकेका बेला फोन आउथ्यो, कहिल्यै विहानै फोन आउथ्यो”,उनले भने“त्यस्तो बेला पनि म घर–घरमा गएर सेवा गर्थे, त्यसले गर्दा पनि म जित्छु जस्तो लाग्छ ।” त्यति मात्रै होईन्, उनले कोषाध्यक्ष हुँदा बबई लिफ्टिङको काम ल्याउन पनि सफल भए । माओवादी केन्द्रकी नेतृ विना मगर खानेपानी मन्त्री हुँदा सितारामले नै उक्त पहल लिएका थिए । त्यसले गर्दा पनि जित्न सक्ने उनी बताउँछन् । खानेपानी पाइप नभएको अवस्थामा पनि त्यसलाई विस्तार गर्न उनले भूमिका खेले । घर–घरमा पानी पु¥याउनु पर्छ, भन्ने उनको मान्यता थियो ।

सीतारामले अहिलेसम्म जुन संस्थाको नेतृत्व गरे, त्यहाँ राम्रो छाप छोड्न सफल भएका छन् । दाङ जिल्ला खेलकूद विकास समितिको कोषाध्यक्ष हुँदा तुलसीपुरमा टेबलटेसिन हल बनाएको, मल्टिप्रपोज कबर्ड हल निर्माण गर्न सफल भएका थिए । खेलाडीका हरेक समस्यामा पनि उनी जुध्ने गरेकाले पनि एउटा जित्ने आधार यो पनि रहेको उनी बताउँछन् ।  उनी यातायात क्षेत्रमा पनि २४ वर्ष बिताए । टाईप राइटरदेखि सुरु भएको त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिको जागिर २४ वर्षपछि कार्यालय प्रमुख भएर समापन भएको थियो । त्यसको प्रभाव पनि चुनावमा पर्ने उनी बताउँछन् ।

उनको नेतृत्वमा ७ दल चुनावी मैदानमा छन् । उपाध्यक्षमा जनमोर्चाका दुर्गा प्रसाद भण्डारी, सचिवमा विप्लवका रुद्रबहादुर वली, कोषाध्यक्षमा माओवादी केन्द्रका कर्णबहादुर वली र सदस्यहरुमा बैध निकट नेकपा क्रान्तिकारी माओवादीका मनबहादुर वली, माओवादी केन्द्रका प्रेम कुँवर, मनिशा सेर्पाइली, कमला चौधरी,एकीकृत समाजवादीका डिला परियार चुनावी मैदानमा छन् ।

बाँकी काम पूरा गर्ने यमकान्तको लाइन
वहालवाला अध्यक्ष यमकान्त भण्डारी पनि अध्यक्षको मैदानमै छन् । खानेपानीको निर्वाचनमा उनको यो तेस्रो चुनाव हो । यो भन्दा अघिल्लो कार्यकालमा खेमराज वलीसंग अध्यक्षमा चुनाव हारेपनि बहाल रहेको कार्यकालमा भने सबै राजनीतिक दलको समर्थनमा अध्यक्ष निर्वाचित भएका हुन् ।

यस पटक पनि नेपाली काँग्रेसले उनलाई नै टिकेट दिएको छ । उनलाई दोहो¥याउनुको एउटै कारण हो–बबई लिफ्टिङको काम पूरा गर्ने । प्रक्रिया अघिल्लो कार्यकालमा अन्तिम चरणमा पुगेको भएपनि सुरुवात उनकै कार्यकालमा भयो । उनले नै त्यो परियोजनालाई सुरुवात गर्ने मौका पाए । त्यही मौकालाई आधार बनाएर चुनाव जित्न सकिने अध्यक्ष भण्डारीको विश्वास छ । “बबई लिफ्टिङ मेरै पालामा सुरु भयो”, उनले भने “अझै धेरै काम बाँकी छ, यसलाई पूरा गर्न मेरै नेतृत्व चाहिन्छ, भनेर मलाई दोहो¥याउनु भयो ।” त्यति मात्रै नभई खानेपानी भित्र पनि काँग्रेसका मतदाताको संख्या पनि अत्यधिक भएकाले जित्ने आधार बलियो रहेको उनी बताउँछन् । काँग्रेस विगत जस्तो विभाजित मानसिकतामा नरहेको उनको विश्वास छ।“काँग्रेस विगतजस्तो विभाजित छैन”,  उनले भने “एकजुट छौं, एकजुट भए हामी जित्न सजिलै सक्छौं ।”

उनले मुलकोटको पाईप फेर्ने, डिबोरिङ खन्ने काम पनि बाँकी ति काम पनि पूरा गर्ने बताए । उनी यातायात तथा शिक्षा क्षेत्रमा पनि क्रियाशिल ब्यक्ती हुन् । उनको प्यानलको उपाध्यक्षमा नारायण प्रसाद शर्मा, सचिबमा रञ्जनकुमार गौतम, कोषाध्यक्षमा भोलाप्रसाद थापा तथा सदस्यहरुमा प्रमोद योगी (शरद), बुद्धि चौधरी, सुष्मा अधिकारी र लुमा बुढा मगर रहेका छन् ।


नितान्त समाजसेवाकालागि लामिछानेको उम्मेदावरी
एमाले र राप्रपा सम्मिलित गठबन्धनबाट मनोज लामिछानेले नेतृत्व गरेका छन् । उनी खानेपानीका पूर्व सचिव पनि हुन् । राप्रपालाई उपाध्यक्ष दिईएको छ, भने अन्य सबै पद एमालेसंग छन् । चलचित्र क्षेत्रमा पनि सक्रिय लामिछाने हाल तुलसीपुर खानेपानीको अध्यक्षमा उम्मेदवार बनेका छन् । उनले हरेक युवाहरू पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गर्नुपर्छ, भनेर लागेको बताए । “धेरै युवाहरू अहिले विदेश पलायन भइरहेका छन्”,उनले भने“यसरी युवाहरु विदेशी रहेको अवस्थामा युवाहरुले नेपालमै पनि केही गर्न सक्छन्, भनेर म लागिरहेको छु, त्यसैले पनि मलाई भोट दिनुहुनेछ, भन्ने विश्वास छ ।”

युवाले समाजसेवा गरेर आउछु, भन्दा सबैले साथ दिने उनको विश्वास छ । खानेपानी भित्रपनि सुशासन कायम गर्ने उनले बताए ।“म खानेपानी संस्थामा गएर काम गर्ने हो, त्यसलाई सही तरिकाले चलाउने हो”,उनले भने“मलाई त्यहाँ गएर जीवीका चलाउनु पनि छैन, नितान्त समाजसेवा गर्ने हो ।”

उनले जितेपछि बबई लिफ्टिङलाई निरन्तरता दिने बताए । बिल पारदर्शी, २४ घण्टा नै सेवा प्रवाह गर्ने, हाईड्याम्पको कामको सम्भाब्यतालाई अगाडी बढाउने कुरामा विश्वास दिलाए । उनको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण खत्री, सचिबमा भुवन भुषाल, कोषाध्यक्षमा शुसिला न्यौपाने सदस्यहरुमा पदमबहादुर खड्का,सुकण्ठ न्यौपाने, छमा भण्डारी, शुसिला घर्ती र प्रमिता तिवारी रहेका छन् ।

संरक्षणमा काँग्रेस, दाउमा एमाले, माओवादी
खानेपानीमा मतदाता संख्याका हिसाबले काँग्रेस बढि हो । तर, सामाजिक संस्था भएकाले पार्टीगत भन्दा बढि ब्यक्ती हेर्ने गरिन्छ । सामाजिक संघसंस्थाको निर्वाचनमा जनतासंग जो नजिक छ, त्यसैले नै जित हात पारेका थुप्रै इतिहास छन् । यस्तो अवस्थामा काँग्रेसलाई आफ्ना मतदाता संरक्षणमा नै बढि ध्यान दिएको देखिन्छ । तर, काँग्रेस भित्रबाट विद्रोह गर्ने खालका मतहरू माओवादीका उम्मेदवारले तान्ने की, एमालेका उम्मेदवारले तान्ने भन्ने रस्साकस्सी देखिन्छ ।

एक जना स्वतन्त्र उम्मेदवार
दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र रुपमा खुल्ला सदस्यबाट उम्मेदवार दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा खगेश्वर भण्डारी र माधव गिरीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताए । खुल्ला सदस्यमा स्वतन्त्रबाट शोभाराम पुन उम्मेदवार छन् ।

२ चैतमा मतदान
निर्वाचन २ चैतमा अरणीको मैदानमा हुनेछ । निर्वाचनकालागि १० हजार नौ सय १९ मतदाता रहेका छन् । चार पदाधिकारी र २ खुल्ला सदस्य एवं तीन जना महिला सदस्यहरुगरि ९ जना निर्वाचित हुनेछन् । साभारः अग्रिम साप्ताहिक