घुससहित पक्राउ परेका रोल्पाका ट्राफिक प्रमुख सई दोषी ठहर

तुलसीपुर, २१ फागुन ।
घुस रकमसहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख (प्रहरी नायब निरीक्षक) ललित कुमार बुढाथोकी भ्रष्टाचार मुद्दामा दोसी ठहर भएका छन् ।

मंगलबार विशेष अदालत काठमाडौंले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघि मात्रैउनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दाएर गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पामा कार्यालय प्रमुखको रुपमा रहदा उनी २५ हजार घुससहित पक्राउ परेका थिए ।


उनलाई तीन महिना कैद तथा २५ हजार रुपैयाँ जरिवाना र १ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कवापत पीडित राहत कोषमा भराउने फैसला भएको छ ।
सो मुद्दामा विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले फैसला गरेको थियो ।

विशेष अदालतका अनुसार अदालतमा पेस भएको अडियो भिडियो संवाद तथा उजुरीमा उल्लिखित र बरामद नोटका नम्बर भिडेको आधारमा उनी दोषी ठहर भएका हुन । उनले सवारी साधनलाई आवत जावतमा सहजीकरण गरिदिए वापत घूस मागिरहेको सूचनाका खटिएको अख्तियारको टोलीले बुढाथोकीको सिरानीबाट २५ हजार घूस रकम बरामद गरेको थियो ।