मसुरीयामा महाशिवरात्री साँस्कृतिक मेला सुरु

तुल बहादुर कवँर मगर
मसुरीया, १३ फागुन।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया शिरिचौरमा महाशिवरात्रीको अवसरमा मंगलबारदेखि महाशिवरात्री साँस्कृतिक मेला सुरु भएको छ।

घण्टदेव सामुदायिक वन उपभोक्ता समिति शिरिचौरको आयोजनामा तथा घण्टदेव युवा क्लबको सहआयोजनामा सुरु भएको मेलाको उद्घाटन राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले गर्नुभयो।

घण्टदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षतामा तथा उपाध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष चौधरीले समुदायमा सांस्कृतिक परम्परा र धार्मिक भावनाको संरक्षण गर्न यस्तो मेला महत्वपूर्ण हुने बताउनुभयो।

“यसले स्थानीय कलाकार र परम्परागत कलाकृतिहरूलाई प्रवर्द्धन गर्ने मात्र होइन, समुदायबीचको एकता र सद्भावना पनि बढाउनेछ,” उपाध्यक्ष चौधरीले भन्नुभयो।


उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी, वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, वडा सदस्य चम्फा भुसाल, इश्वरी परियार, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो।

तीन दिनसम्म सञ्चालन हुने मेलामा नियमित पूजापाठ, मगर पञ्चेबाजा लोकनृत्य प्रस्तुति, खुल्ला लोकनृत्य प्रतियोगिता, मगर र थारु खानाका परिकारहरू, जादू कला लगायत विभिन्न आकर्षणहरू रहने बताइएको छ।

घण्टदेव सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेक बहादुर गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष भान बहादुर घर्ती मगरले गर्नुभएको थियो।