
तुल बहादुर कवँर मगर
भालुवाङ, १२ फागुन ।
देउखुरीको राप्ती गाउँपालिकाले नेपाल सरकारको उपसचिवमा बढुवा भई जान लाग्नु भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई सोमबार एक कार्यक्रमको आयोजना गरि बिदाई तथा फेरि भेटौंला कार्यक्रम गरेको छ।
करिब अढाई वर्ष बढी पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहनुभएका वलीको पालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी,वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु र कर्मचारीहरूले टीका, फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गर्नुभएको हो।
बिदाई कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले गाउँपालिकाको प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा वलीको योगदान अतुलनीय रहेको बताउनुभयो ।
आफ्नो कार्यकालको झण्डै आधा समय प्रमुख प्रशासकीय अधिकृतको पदमा वली रहेको भन्दै उहाँले गाउँपालिकाको विकासका सबै सन्दर्भमा वलीले सधैं सकारात्मक ढंगले साथ दिएको बताउनुभयो । वलीको नेतृत्वमा प्रशासनिक सुधार, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा आएको परिवर्तनप्रति धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले वलीको समर्पण र इमानदारिताको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो।त्यस्तै उहाँले हरेक कार्यालयमा वली जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीको आवश्कता रहेको कुरा समेत औल्याउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत वलीले आफ्नो कार्यकालभरि जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै राप्ती गाउँपालिकामा काम गर्ने अवसर पाउँदा गौरवान्वित भएको बताउनुभयो।
बढुवा भई गए पनि राप्ती गाउँपालिकासँगको सम्बन्ध सँधै कायम रहने प्रतिबद्धता व्यक्त गर्दै, उहाँले आगामी दिनमा समेत विभिन्न माध्यमबाट सहकार्यको अपेक्षा राख्नुभयो। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा कर्मचारीहरूले सहभागीता रहेको थियो ।



लाइभदाङ । १२ फाल्गुन २०८१, सोमबार २०:१० बजे