यो सरकार ढाल्न बल लगाउनु पर्दैन, १७ महिना पछि आफै छोड्छुः प्रधानमन्त्री

दीपक बोहरा
दाङ, ५ फागुन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन् । लुम्बिनी प्रदेशसभालाई सोमबार बिशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १७ महिनापछि सत्ता हस्तान्तरण गर्ने र त्यो अबधीसम्म आफूले सरकार चलाउने बताए ।“ यो सरकार ढल्छ, भन्ने हल्ला छ । यस्ता हल्ला नचलाएपनि हुन्थ्यो”,उनले भने “१७ महिनाजति पनि बाँकी छैन । ७ महिना मैले सरकार चलाएँ, अब १७ महिना चलाउछु । त्यसपछि देउवाजी(शेरबहादुर देउवा) लाई दिन्छु । त्इो डिक्लिएर छ ।”

१७ महिनासम्म तोप हानेपनि सरकार नढल्ने ओलीको भनाई छ । “केपी ओलीलाई हराउन कुनै बल लागउनु पर्दैन ”,उनले भने“ आफै छोड्छु, बेला पुग्यो भने ।” झण्डै दुई तिहाईको बहुमतको सरकार भएकाले नढल्ने र हस्तान्तरण पनि देउवालाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । काँग्रेस र एमालेबीच कुनै आशंका पनि नरहेको बताए ।

साथै उनले आफूले कसैको पार्टी फुटाउने तिर नलागेको समेत बताए ।“हामी देश बनाउन लागेका छौं, कसैको पार्टी फुटाउन तिर लागेका छैनौं”, उनले भने“ पार्टी कसैले बनाईदिने र फुटाईदिने भन्ने हुँदैन, चासो पनि छैन । आफ्नो पार्टी आफै बनाउने हो ।” साथै उनले मुलुकमा सबै भन्दा ठूलो परिबर्तन ल्याउने २००७ सालको क्रान्ति नै रहेको बताए । मुलुकमा राजनीति गर्न नपाइने अबस्थाबाट अहिले सहज राजनीति गर्ने ठाउँमा पुगेको भन्दै त्यो नै मुलुकको ठूलो क्रान्ति भएको बताए । त्यो लोकतान्त्रिक इतिहासमा सबै भन्दा ठूलो दिन रहेको समेत उनको भनाई छ ।


साथै उनले देश अफ्टेरोमा पर्ने खतरामा रहेको समेत बताए । मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै यसलाई समाधान गर्न पनि मुलुकका दुई ठूला पार्टीहरु मिलेर सरकार बनाएको बताए । “देश अफ्टेरोमा नपरिकन एमाले र काँग्रेस मिल्न चहाँदैनथे । अर्थतन्त्र ओरोला लाग्यो, युवा विदेशिए”,उनले भने“ आईटीमा इन्डिया अगाडी गइसक्यो । हामी निकै पछि छौं ।”

साथै उनले तीनै तहका सरकारहरुबीच सहकार्य आबश्यक रहेको समेत बताए । उनले एकले अर्कालाई साथ दिएर अगाडी बढ्नु पर्ने बताए । साथै उनले उत्पादनमा प्रबिधिको प्रयोग गर्ने बताए । कम खर्चमा बढि आम्दानी दिने गरि प्रबिधिको विकास गर्ने उनको भनाई थियो ।  ४० बर्ष अघि चीन गरीब रहेको उदाहरण दिदै त्यो अनुसारको विकास नेपालमा पनि गर्न सकिने कुरामा उनको जोड थियो ।