
दाङ,११ फागुन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले निर्वाचन प्रणाली परिबर्तन गर्नुपर्ने बताएका छन् । शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि अहिलेको निर्वाचन प्रणालीले स्थायीत्व पनि नभएको र खर्चिलो पनि भएकाले यसलाई सुधार गर्नुपर्ने बताए ।“अहिले स्थानीय तहको जुन निर्वाचन प्रणाली छ, प्रदेश र संघमा पनि त्यस्तै निर्वाचन प्रणाली आबश्यक हुन्छ”,उनले भने “स्थानीय तह पाँच बर्षसम्म पनि ढुक्कले चल्छन्, तर प्रदेश र संघमा केही महिनामै फेरिने अबस्था छ ।”
अहिले सरकारले संविधान संसोधनको कुरा ल्याएको भन्दै यो ठीक भएको समेत उनको भनाई थियो । राज्य प्रणालीमा हेरफेर गर्नै पर्ने आबश्यकता देखिएको उनको भनाई थियो । साथै उनले स्थानीय तहले निर्माण गरेका कानुनहरु समेत कार्यान्वयनको अबस्थाका बारेमा बुझ्न जिल्ला–जिल्लामा कार्यक्रम लिएर पुग्ने गरेको बताए ।
उनले ऐन बनाउने तर, परिक्षण नगर्ने जस्ता समस्या देखिएको समेत बताए । स्थानीय तहमा कानुन अधिकृत नहुँदा पनि कानुन परिपक्क नबन्ने तथा कपि, पेष्ट गरेर कानुन निर्माण गर्नुपर्ने अबस्था रहेको समेत सभामुख घर्तीले बताए । कानुन निर्माणका क्रममा प्रदेशसभा र स्थानीय तहहरुबीच सहकार्य नहुँदा पनि समस्या हुने गरेको सभामुख घर्तीको भनाई छ ।
“एकले बनाएको कानुन अर्कोलाई थाहा नहुँने अबस्था छ”,उनले भने “कम्तिमा कानुन निर्माण गर्दा सहकार्य भएमा अहिले जस्ता त्रुटी कम भएर जान्छन् ।” अहिले स्थानीय तहमा कार्यविधिबाटै काम चलाउने गरिएको छ ।
संघीय निजामति ऐन, संघीय शिक्षा ऐन, संघीय बन ऐन, संघीय प्रहरी ऐन नबन्दा पनि स्थानीय तहमा यसरी समस्या देखिएको उनको भनाई छ ।



लाइभदाङ । ११ फाल्गुन २०८१, आईतवार ०७:३८ बजे