तुलसीपुरमा पूर्वीय दर्शन बारे बहस

वेद सफलता र खुसीको मुहान

तुलसीपुर ३ पुस ।


प्रसंशनीय खोज अभियानमा अभियन्ता बुद्धि तामाङ्गले पूर्वीय दर्शनको मुख्य ग्रन्थ वेद नै सफलता र खुसीको मुहान भएको वताएका छन् । विकसित देशका महान व्यक्तिहरुले बेदलाई अनुसरण गरेका कारण नै सफल भएको वताउँदै नेपालीहरुले आफ्नै मौलिक ज्ञानलाई अवमुल्यन गरेको वताए । “हामीले हाम्रा मान्यता र ज्ञानलाई पछ्याउन नसक्दा दुःख पाइरहेका छौ” तामाङ्गले बताए ।
तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको पूर्वीय दर्शनमा आधारित सफलता, समृद्धि र प्रशंसनीय दृष्टिकोण सम्बन्धी परिसंवाद कार्यक्रममा बोल्दै तामाङ्गले समानता,मित्रता,ज्ञान,करुणा, शान्ती र समभाव लगायतका कुराले मानिसलाई खुसी र सफल वताउन भुमिका खेल्ने कुरामा जोड दिएका थिए । “ र यी कुरालाई वेदले उठाएको छ “ उनले भने । मानिस विवेकशिल प्राणी भएपनि विवेकको उचित प्रयोग हुन नसकेका कारण दुख पाइरहेको पनि उनको निश्कर्ष थियो ।
“नाम, दाम, भौतिक सुविधा,शक्ति, विचार र शिलसपथलाई पछ्याउँदा मानिस कहिल्यै सन्तुष्ट हुन सकेको छैन यी कुरालाई पछ्याउने होईन यीनले हामीलाई पछ्याउनुपर्दछ अनि मात्र हामी खुसी र सफल हुन सक्छौ, बेदको मुल मर्म पनि यही हो ” तामाङ्गले भने ।
समाजमा अरुको लहलहैमा मानिस अगाडी बढेका कारण धेरै विसंगति देखिएको बताउँदै हाम्रा दर्शनहरुको अध्ययन र अवलम्बन गर्नमा सबैले ध्यान दिनुपर्ने उनको सुझाव थियो । “हामी यस्तो गर्ने उस्तो गर्ने भनेर सोच्छौ तर गर्न भने सक्दैनौ, यसको कारण भनेको हामीलाई सफलता भन्दा पनि असफलताको बढी डर हुन्छ । काम सुरुवात नगर्दै डराउँने हाम्रो आदतमा सुधार आवश्यक छ ” उनले भने ।
“मसँग केही छैन भन्ने सोच्यौ भने हामीसँग केही पनि हुँदैन तर मसँग धेरै कुरा छ भन्ने सोच्यौ भने हामीसँग संसार हुन्छ । एउटा सानो सोचाईले नै हो मानिस बदलिने अझ मानिस मात्रै होईन सारा संसार बदलिन सक्छ ” तामाङ्गले थपे “ भारतका विभिन्न ठाउँमा ध्यान गरेर अमेरिका पुगेका स्टिभ जब्सले संसारलाई अचम्मित पार्ने व्यवसाय सञ्चालन गर्छ तर हामी बेदले सिकाएको ध्यान योगका कुरामा कहिल्यै पनि ख्याल गर्दैनौ”
कार्यक्रममा परिकल्पना नेपालका अध्यक्ष रमेशकुमार अधिकारीले सकारात्मक चेतको विकास आजको पुस्तामा हराउँदै गएको वताए । विश्व बुझेका युवाहरु नै केही गर्न सकिदैन भनेर थाक्नु राम्रो कुरा होईन” युवाहरुतर्फ लक्षित गर्दै उनले सुझाव दिए ।
साझेदारी कार्यक्रमका प्रतिनिधि हरि घिमिरेले शिक्षकहरुतर्फ लक्षित गर्दै शिक्षित जनशक्ति उत्पादन गरेपनि ज्ञान भएको जनशक्ति उत्पादन गर्न नसकेको बताए । “हामीले सिकायौ मात्र सिकाएको कुरालाई व्यवहारामा लागु कसरी गर्ने भन्ने विषयमा उनीहरुले केही पनि थाहा पाएका छैनन” घिमिरलेले भने ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नकारात्मक सोचको अन्त्य नै समृद्धिको सूचक भएको कुरामा जोड दिए । “हाम्रो दृष्टिकोणका आधारमा नै संसारका हरेक कुराका रङ्गहरु देखिने गर्दछन् ।
कार्यक्रममा विषय प्रवेश गराउँदै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सकारात्मक सोच राख्ने जनताले मात्रै नगरलाई समृद्ध वनाउन सक्ने वताए । “हामी कस्तो छौ भन्ने कुरा हाम्रा आहार,बिहार र विचारले स्पष्ट पार्ने गर्दछ” पाण्डेले भने ।
तुलसीपुर उपमहानगरपालिका कार्यालयका कर्मचारी, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, सामाजिक अभियन्ता लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गरेका थिए ।