
दाङ, १ फागुन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा कार्यक्रम गरेको छ । कार्यक्रममा जनयुद्धको योगदान, राजनीतिक अवस्था तथा पार्टीको भावी रणनीतिबारे छलफल गरिएको छ ।
दाङ जिल्ला सेक्रेटरी ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ता पोलिटब्युरो सदस्य हिरामणी दुखीले तत्कालीन नेकपा (माओवादी) द्वारा सुरू गरिएको जनयुद्ध विश्वभर चर्चित रहेको तर नेतृत्व जेलमा रहँदा षड्यन्त्रपूर्वक टुंग्याइएको बताउनुभयो ।
उहाँले सोही कारण माओवादी आन्दोलनमा मतभेद पैदा भएको र पार्टी विभाजन भएको उल्लेख गर्नुभयो । पार्टीको राष्ट्रिय एकता महाधिवेशनले जनयुद्धको जगमा टेकेर नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने निर्णय गरेको उहाँको भनाई छ । वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने योजनाका साथ संघर्षलाई निरन्तरता दिइरहेको दुखिले बताउनुभयो ।



कार्यक्रममा पोलिटब्युरो सदस्य शशिधर भण्डारीले जनयुद्धको नेतृत्व गर्ने कतिपय नेताहरू अहिले आलिसान जीवन बिताइरहेको र जनयुद्धलाई नै अपराध करार गरिरहेको बताउनुभयो । उहाँले जनयुद्धका क्रममा लडेका धेरै योद्धाहरू अहिले विभिन्न समस्यामा रहेको भन्दै आन्दोलनकै अगुवाहरूले जनयुद्धको अपव्याख्या गर्नु दुःखद रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य शशिराम बुढाथोकी, अमर पोख्रेल, सहिद परिवारका प्रतिनिधि सुन्दरलाल चौधरी तथा गीता स्मृति फाउन्डेसनका अध्यक्ष नरेन्द्र बहादुर बञ्जाडे लगायतका वक्ताहरूले जनयुद्धको बलिदानलाई सम्मान गर्दै पार्टीले अघि सारेको सङ्घर्षलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
बामदेम पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गोपाल बैद्यले गर्नुभएको हो । यसैबिच त्यस अवसरमा गीता स्मृति फाउन्डेसनले बेलुवा प्राथमिक विद्यालयमा अध्ययनरत ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सहिद परिवार तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
लाइभदाङ । १ फाल्गुन २०८१, बिहीबार २२:४९ बजे