सहीद स्मृति माविमा जनयुद्ध दिवस मनाइयो

तुलसीपुर, १ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बनकट्टा स्थित सहीद स्मृति आवासिय माविलले जनयुद्ध दिवस मनाएको छ । विद्यालयका शिक्षक विद्यार्थीहरुले अतिथिहरुसंग टिका ग्रहण गरेर सहीद दिवस मनाएका हुन् ।

त्यस अवसरमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका सांसद धन बहादुर मास्की (राजेश)ले माओवादीबिचको एकता आवश्यक रहेको बताए । ‘जनयुद्धले नेपालको सामन्तवादी सत्तालाई परास्त गरि गणतन्त्रसम्म ल्याएको छ । हाम्रो लक्ष्य आमूल परिवर्तनको थियो तर त्यो सम्भव भएन ।”,उनले भने“अहिलेको गणतन्त्र जनयुद्धको प्रमुख योगदान हो । माओवादीहरु विभिन्न विचारधारामा बिभक्त भएर अब हुँदैन । कुनै बेला फुटियो अब यो जुट्ने बेला हो । माओवादी धाराहरु अब नयाँ ढंगले एकताबद्ध भई समाजवादको दिशामा अघि बढ्नुपर्छ ।”

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले पनि माओवादीहरु जुट्नुपर्ने आवश्यकता रहेको बताए । नेता प्रदिप सीले नेपाली जनताको आफ्नै सत्ता प्राप्तिको लडाइँ पूरा गर्नेगरि नेपाली बिशेषताको समाजवादी व्यवस्थाका स्थापनाका लागि सबै माओवादीहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले प्रतिक्रियावादीहरुले नै माओवादीहरुलाई मिल्नेगरि गतिविधि गरिरहेकाले एकता अनिवार्य रहेको बताए । उनले जनयुद्धका सहिदहरु, घाइते , बेपत्ता योद्धा परिवारका सपना जुटेर मात्रै पूरा गर्न सकिने भएकाले माओवादीहरु एकताबद्ध हुनुपर्ने बताए ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले रुपान्तरित माओवादीहरूको एकता आजको अनिवार्य आवश्यकता भएको जिकिर गरेका हुन् । उनले सबै माओवादीहरु रुपान्तरण भएर गहन र मिहिन ढंगले कार्यक्रम र कार्यदिशा बारे छलफल गरि एकता गर्नुपर्ने समेत बताए ।

सहिद स्मृति आवासीय माध्यामिक बिधालय तुलसीपुर १७ वनकट्टीका प्रधानाध्यापक नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शसिराम भण्डारी , नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी, शिक्षक मदन जीएमलगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

शिक्षक भुपेन्द्र वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक मिनराज वलीले गरेका थिए ।