प्रअ र वडाध्यक्षबीचको मनमुटावले वडाले सिफारिश नै दिदैन 

दीपक बोहरा
दाङ, १९ मंसिर ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं.२ मा रहेको जनकल्यान मावि बाघमारे र वडा कार्यालयबीचको मनमुटाव भएको लामै समय भयो ।कहिल्यै विद्यालयमै हातपातको अवस्था त, कहिल्यै पालिकाका शिक्षा शाखा प्रमुखसम्मलाई हातपात नै गर्ने अवस्थाको सिर्जना समेत भयो । त्यसको सबै उपज वडाध्यक्ष सुनिल ओली र विद्यालयका प्रधानाध्यापक निमबहादुर केसीबीचको मनमुटाब नै हो । त्यसकै फलस्वरुप अहिले वडा कार्यालयले विद्यालयलाई कुनै पनि सिफारिश दिदैन । पटक–पटक विद्यालयमा आवश्यक संरचना निर्माण गर्नकालागि बजेट माग गर्दा होस्, वा अन्य कुनै कार्यक्रम गर्दा होस्, वडामा सिफारिश माग्न जाँदा सिफारिश नै नदिने गरेको प्रअ केसीले बताए । “हामीले सिफारिश माग्न पटक–पटक जान्छौं, धेरै सिफारिशहरू हामीले पाइ रहेका छैनौं”, उनले भने “त्यो नहुँदा विद्यालयका गतिविधि अगाडी बढाउन निकै समस्या हुने गरेको छ ।”

लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वीस सरकारको क्वालिटी परियोजाको कार्यक्रम कार्यान्वयनकालागि प्रस्तावना आह्वान गरेको थियो । कात्तिक ७ गते आह्वान गरेको  उक्त प्रस्तावनाको समय गएको शुक्रबार सकिदै थियो । प्राविधिक शिक्षा सञ्चालन गरेका विद्यालय मध्ये उक्त विद्यालय पनि छनोटमा परेको थियो ।  तर, सिफारिश कुर्दा–कुर्दै अन्तिमसम्म पनि त्यो प्रस्तावना पेश गर्न सकिएको अवस्था थिएन । त्यसपछि वडाको सिफारिश विनै प्रस्तावना पेश त, गरियो तर, केही समयपछि वडाको सिफारिश उपलब्ध गराउने सर्तमा ।

विद्यालयमा त्यो कार्यक्रम पर्न सक्ने सम्भावना बढि भएपनि वडाले सहयोग नगर्दा समस्या उत्पन्न भएको प्रअ केसी बताउछन् ।“त्यो कार्यक्रम परेमा विद्यालयले २५ लाख प्राप्त गर्छ, तर, वडाले सिफारिश नै दिदैन”,उनले भने“यसरी पटक–पटक रोक्दा विद्यालयको विकासमा बाधा भइरहेको छ ।” त्यति मात्रै होईन्, यस अघि गएको आर्थिक वर्षमा भएको विद्यालय भवनको पुननिर्माण तथा पार्केटिङ निर्माणकालागि गरेको कामको भुक्तानी नदिनु भनेर समेत  सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरमा पत्र समेत वडाले पठाएको छ । यद्यपी त्यसको काम अन्तिम चरणमा थियो ।विकास ल्याउनकालागि सिफारिश नदिने मात्रै होईन्, गरेका कामको समेत भुक्तानी समेत नदिनु भनेर सम्बन्धित काम गरेको कार्यालयमा पत्र पठाउँदा विद्यालयमा काम गर्न निकै कठीन भएको प्रअ केसी बताउछन् ।

यस अघि वडाले सिफारिश नदिएपछि पालिकाको शिक्षा शाखाबाट समेत सिफारिश लिईएको थियो । तर, त्यो सिफारिश दिएको भन्दै पालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेमाथि हातपात समेत गरेर केही दिन जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा समेत बसेका थिए । विद्यालयले गरेको पुस्तकालाय निर्माणको कार्यको सिफारिशका सन्दर्भमा यसरी हातपात समेत भएको थियो ।

यी यस्तै घटनाहरू वडाध्यक्ष र प्रअबीचको द्वन्दले पटकरूपटक भइरहेका छन् । दर्जन बढि सिफारिशहरू रोकिएको प्रअ केसीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर घर्तीले यसरी सिफारिश रोक्दा विद्यालयको विकासमा प्रत्यक्ष असर गरिरहेको बताए । नजितामा उत्कृष्ट भएको अवस्थामा सबैले सहयोग गर्नुपर्नेमा सरकारले नै असहयोग गरिरहेको उनको गुनासो थियो ।“हामी नतिजाका हिसाबले नेपालमै तेस्रो भयौं”,उनले भने“तर, यस्तो अवस्थामा कतैबाट पनि सहयोग हुँदैन, उल्टा असहयोग हुँदा निकै कठीन हुने गरेको छ ।”

विद्यालयमा हुने यस्ता गतिविधिले अभिभावक पनि आतिज भएका छन् । अभिभावक खम्बु जैसीले विद्यालयलाई सरकारले सहयोग गर्नुपर्नेमा उल्टो विकास माग्दा पनि रोक्ने जस्ता गतिविधिले यसको विकासमा बाधक हुने गरेको गुनासो गरे ।


सिफारिश रोकेको कुरा वडाध्यक्ष वली आफै पनि स्वीकार गर्छन् । उनले विद्यालय बनाउने कुरामा प्रअ भन्दा आफू वडाध्यक्ष भएको नाताले चिन्ता रहेको समेत बताउछन् ।“विद्यालय राम्रो बनाउने कुरा प्रअ भन्दा मलाई बढि चिन्ता छ, किनकी म निर्वाचित जनप्रतिनिधि पनि हुँ, त्यही पढेको विद्यार्थी पनि हुँ”,उनले भने“तर, विद्यालयलाई मर्यादित र सभ्य तरिकाले चलाउनुपर्छ, भन्ने मात्रै मेरो भनाई हो ।” उनले प्रअले मनोमानी गरेको समेत आरोप लगाए ।

पालिका अध्यक्ष पनि डराउछन् 
कक्षा १२ सम्मको विद्यालय सञ्चालनको अधिकार स्थानीय पालिकालाई हुन्छ । तर, शिक्षा शाखाले सिफारिश दिने कुरामा पालिका अध्यक्ष नै डराउछन् ।“वडाध्यक्षले सिफारिश नदिनु भन्नु हुन्छ, सिफारिश दिदा आउने परिस्थितीलाई मध्येनजर गर्नुपर्छ”अध्यक्ष प्रमोद बस्नेतले भने“सकेसम्म अध्यक्ष र प्रअ मिलेर आए राम्रो हुन्थ्यो ।” विगतमा पनि शिक्षा शाखा प्रमुखमाथि हातपात भएको भन्दै त्यो घटना नदोहोरियोस्, भनेर आफु सचेत रहेको पालिका अध्यक्ष बस्नेतको भनाई छ ।

वि.व्य.स.देखिको विवाद
२०७९ चैतमा विद्यालय व्यवस्थापन समिति चयन गर्ने कुरा थियो । वडाको त्यो भन्दा अघिल्लो कार्यकालका अध्यक्ष फर्साराम डाँगीले आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर सञ्चालन गरेका थिए । तर, अहिले त्यो छैन । यसले पनि सोही विद्यालयमा विवादको वातावरण सिर्जना भएको थियो ।

मावि र प्राविमा शिक्षक राख्दा पनि शिक्षक सेवा आयोगका करार सूचिमा रहेका शिक्षकहरूलाई नियुक्ति प्रदान गरिएको थियो । त्यो कुराले पनि विवाद सिर्जना गरेको थियो । त्यस्तै केही शिक्षकहरू त्यो विद्यालयबाट अवकास प्राप्त गरेका थिए । ति शिक्षकहरूलाई पुनः बहाली गर्नुपर्ने भन्ने कुरा आएपछि पनि विवाद आएको थियो । यी कुराहरूले गर्दा अध्यक्ष आफूसंग रिसाएको प्रअ केसीले बताए । “सबै कुरा सिस्टम अनुसार जानुपर्छ, भन्ने मेरा कुरा हो, त्यही अनुसार शिक्षक राख्दा करार सूचिका राखियो, विव्यसमा प्रचलित कानुन अनुसार गइयो”,उनले भने“अवकास प्राप्त शिक्षकहरूलाई बहाली गर्ने कुरा पनि हुँदैन,त्यस्ता कुरामा मैले विरोध गरेकै हो ।”  साभारः अग्रिम साप्ताहिक