दाङमा करिब आधा किलो अबैध सुनसहित एक जना पक्राउ

दाङ, २७ माघ ।
दाङमा आधा किलो अबैध सुनसहित एक जनालाई पक्राउ गरिएको छ । घोराही उपमहानगरपालिका–१५, ट्राफिक चोकबाट घोराही–१४, मिलन चोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई पक्राउ गरेको हो ।

उनको साथबाट ४९७.०४ ग्राम तौल भएको सुन जस्तो देखिने पदार्थ, नगद १ लाख ०७ हजार ८ सय र उनले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।


सादा पोशाकमा खटिएको प्रहरी टोलीले लु ४६ प ६१६१ नम्बरको सुजिकी कम्पनिको मोटरसाइकलमा सवार रसाईलीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अवैध रूपमा सुन कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी शाहले बताउनुभयो ।