
तुलसीपुर, २२ माघ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको लक्ष्मी माविले ६२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष शिवानन्द डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले सामुदायिक विद्यालयहरुको अवस्था सुधारका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभएको थियो । उहाँले अभिभावको ध्यान आकर्षित गर्नका लागि सामुदायिक विद्यालयहरुले शिक्षाको गुणस्तर बृद्धि गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “सामुदायिक विद्यालयहरु पनि विस्तारै स्रोत साधनयुक्त हुँदै गएका छन्, हामी संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्न सक्ने भएका छौ” नगरप्रमुख खड्काले भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष शिवानन्द डाँगीले लक्ष्मी माविको विकासका लागि वडा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयलाई नमुनाकारुपमा अगाडी वढाउनका लागि सहयोग गर्ने पनि बताउनुभयो ।
तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले अभिभावक, विद्यार्थी र शिक्षकको समन्वयले मात्रै गुणात्मक शिक्षाको विकास गर्न सकिने कुरामा जोड दिनुभएको थियो । शिक्षा महाशाखाका अधिकृत मनबहादुर खड्काले अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक अवस्थाका बारेमा चासो दिनुपर्ने कुरा बताउनुभयो ।



सो अबसरमा माध्यमिक विद्यालय सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, बाल चेतना आधारभुत विद्यालयका प्रधानाध्यापक नवराज डाँगी, विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष गिरीराज केसी पुर्व प्रधानाध्यापक हुतराज गौतम लगायतले विद्यालयले गर्दै आएका विभिन्न गतिविधिको प्रशंसा गर्नुभएको थियो । विद्यालय प्रधानाध्यापक प्रकाश खड्काले विद्यालयको वार्षिक प्रतिवेदन पेश गनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीका साथै विद्यालयका पूर्व अध्यक्ष र प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरिदिने गिरीराज बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक रामबाबु शाहीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।
लाइभदाङ । २२ माघ २०८१, मंगलवार ०९:०३ बजे