
विशाल परियार
तुलसीपुर, २२ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का मगर समुदाय माघि पर्वको तयारीमा जुटेका छन्। आफ्नो सांस्कृतिक परम्परा जोगाउन र प्रवर्द्धन गर्न विशेष सक्रियता देखाएको यो समुदायले विशेष गरी माघ १ गते मनाइने माघ संक्रान्ति (मकर संक्रान्ति) लाई लक्षित गरी विभिन्न कार्यक्रमको आयोजना गर्ने योजना बनाएको छ।
मुल आयोजक समितिका संयोजक विशाल रोका मगरले जानकारी दिँदै भने, “हाम्रो उद्देश्य मगर समुदायको सांस्कृतिक धरोहरलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो। यसका लागि हामीले विशेष कार्यक्रमको आयोजना गर्दैछौं।”कार्यक्रमका लागि आवश्यक सामग्री जस्तै धनुष र तिर मुस्ताङ जिल्लाबाट मगाइएको छ। समुदायका सक्रिय सदस्यहरू सुरु रोका मगर, रामु रोका मगर, मदन रोकामगर, समुन्द्र राेका, लगायत स्थानीयले तयारीको काममा महत्त्वपूर्ण भूमिका निभाइरहेका छन्।
विशेष माघ १ गतेका लागि योजना गरिए पनि माघ ३ गते वेलझुण्डिको रङ्गशालामा विशेष कार्यक्रम आयोजना गरिनेछ। यो कार्यक्रम विभिन्न विशेष व्यक्तिहरूको सहयोगमा सम्पन्न गरिने आयोजकले जानकारी दिएकाे छ। रोका मगरले स्थानीय निकाय र पालिकाले थप सहयोग गरेमा कार्यक्रमलाई अझ भव्य र सफल बनाउन सकिने बताउँदै सबैलाई सहभागी हुन आग्रह गरेका छन्। यो पर्वले मगर समुदायको एकता, परम्परा, र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
माघि पर्वको यस विशेष अवसरमा सहभागी भएर आफ्नो संस्कृति र परम्परालाई सम्मान गर्न आयोजक समितिले सम्पूर्ण मगर समुदाय लगाएत विशेषगरी वडा नं. १८ र तुलसीपुर उपमहानगरपालिकामा बसाेबास गर्ने सबैलाई आह्वान गरेको छ।



लाइभदाङ । २२ पुष २०८१, सोमबार २०:२९ बजे