
तुलसीपुर, १४ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरीपौरी निवासी बारु थारुलाई लामो समयदेखि दमको समस्या थियो । उनी विगतमा उपचारकालागि तुलसीपुर बजार जाने गर्थे । तर, आईतबार सोही वडाको रझेनीमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य शिविर भएपछि उहाँले त्यही जाँच गराए भने औषधी पनि लिए ।
त्यस्तै सोही वडाकै जसपुर निवासी पार्वति अधिकारीलाई पनि छाति दुख्ने समस्या थियो, भने पाठेघर पनि जाँच गराईन् । त्यो अवसर स्वास्थ्य शिविरले दियो । पाठेघर जाँच गराउँदा केही समस्या नदेखिएपछि ढुक्क भएको उनले बताईन् । “मलाई पाठेघर जाँच पनि गराउनु थियो, पहिले देखि नै रक्तचाप न्यून हुने समस्या थियो”,उनले भनिन् “यो समस्याका बारेमा जाँच गराएपछि केही समस्या रहेनछ, ढुक्क भयो ।”
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को आयोजना तथा नेपाल क्यानडा टुरीजम कल्चर एण्ड ट्रेड काठमाडौं एवं भिजन किवानीज क्लव अफ नेपालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
सोही शिविरबाट दुईसय २३ जनाले सेवा लिएको भिजन किवानिस क्लब अफ दाङका अध्यक्ष सर्मिला केसीले बताईन् । उनका अनुसार सबै भन्दा बढि महिलाहरुको पाठेघरमा समस्या देखिएको छ । उनका अनुसार जनरल फिजिसियन डा. सुरेन्द्र विक्रम बस्नेतले एकसय १७ जना विरामी जाँच गर्नुभएको थियो, भने दन्तरोग विशेषज्ञ दिया न्यौपानेले ४५ जना तथा स्त्रीरोग विशेषज्ञ डा. बिना श्रेष्ठले ६१ जना विरामीको जाँच गर्नुभएको गरेका थिए ।
वडाका नागरिकलाई सहज स्वास्थ्य सेवा दिनकालागि शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।“धेरै रोग लुकाएर पनि बस्ने अबस्था छ, गाउँघरमा यस्ता समस्या धेरै हुन्छन्”,उनले भने“यसलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको हो । ”
त्यस अवसरमा नगर उपप्रमुख स्यानी चौधरीले यस्ता स्वास्थ्य शिविरले लक्षित समुदायलाई सहज बनाउने बताईन् । गाउँमा रोग लुकाएर बसेकाहरुलाई निकै सहज बनाउने उनको भनाई थियो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख मोहन पौडेलले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण वडा सचिव गणेश कुमार आचार्यले गरेका थिए ।



लाइभदाङ । १४ पुष २०८१, आईतवार २१:१६ बजे